यि हुन समाचार नहटाएको भन्दै पत्रकारलाई धम्की दिने सांसद , चारैतिरबाट बिरोध

nabinalama

काठमाडौं। नेकपाकी सांसद नवीना लामाले हाम्राकुरा डट कममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले भत्र्सना गरेको छ। जेठ २३ गते साँझ ७ बजे सांसद लामाको निर्देशनमा भुपेन्द्र शाहीसहितका ७ जनाको समूहले सो अनलाइनको तीनकुनेस्थित कार्यालयमा छिरेर समाचार हटाउन दवाब दिँदै धम्क्याएको युनियन अधयक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

 शाहीको नेतृत्वको समूहले हुलहुज्जत गर्दै हाम्राकुरा डटकमको समाचार कक्षमा कार्यरत नेपाल प्रेस युनियन तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा हाम्राकुराका कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारहरुलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएको थिए। शाहीले समाचार कक्षमै आएर नबिना लामालाई फोन लगाएका थिए।

 फोनबाट लामाले दवाब दिएकी थिइन्। बुधवार नै अध्यक्ष तथा सांसद लामाले हाम्राकुरा डटकमका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई समाचार नहटाए जे पनि हुने तथा सत्ता र शक्ति आफूसंग भएको भन्दै साईबर क्राईमको मुद्दा लगाएर जाकिदिने तथा उठाउने सम्मको भन्दै फोनबाट धम्की समेत दिएकी थिइन्।

 अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद लामाले समाचारको बारेमा पठाएको खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा साँझको समयमा समूह पठाएर पत्रकारलाई धम्क्याएको तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिएको भन्दै युनियनले भत्सर्ना गरेको छ।

 समाचार कक्षमा प्रबेश गर्नु तथा फोनबाट सम्पादकलाई जाकिदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको युनियनको ठहर छ। ‘समाचारसम्बन्धी चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिइ उपचार खोज्ने बाटो हु्ँदाहुँदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ,’अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कार्यको प्रेस युनियन कडा शब्दमा भत्र्सना गर्दछ। साथै, घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पत्रकारहरुको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न युनियन सरकारसँग जोडदार माग गर्दछ।’

Comments

Top