राष्ट्रपतिको विषयमा नअल्झिऔं : प्रचण्ड

prachanda

 

  मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने भन्दा पनि स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएको बताएका छन् । विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा उनले कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुने भन्दै अहिले त्यतातिर ध्यान नदिन आग्रह गरे ।

पत्रकार भेटघाटनका क्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति प्रकृयासँग सम्बन्धित बाँकी काम पूरा गर्नु पर्ने बताउँदै उनले भने–‘आयोगको काम जुन गतिका साथ अघि बढनु पथ्र्यो त्यसमा ढिलाई भएको हो । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई शान्ति प्रक्रियासँग सम्बन्धित सबै काम पूरा गर्न सरकारले समय थप गर्छ।’

निर्माण कम्पनीहरुले समयमा गुणस्तरीय काम गर्न एकाधिकार कायम भएका क्षेत्रहरुको एकाधिकार तोड्नका लागि गृहमन्त्रीलाई आग्रह गरेको अध्यक्ष दाहालले बताए। उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई समायोजन गर्दा महंगी बढेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारको बचाउ गरेका थिए ।

प्रदेश २ मा अहिले नै तत्काल बामपन्थी सरकार बनाउनु भन्दा सुशासन र विकासमा लग्ने पहिलो प्राथमिकता भएको भन्दै उनले संघीय समाजवादी र राजपाको गठबन्ध टुटेपछि मात्रै प्रदेश २ मा बामपन्थीले सरकार बनाउने बताए ।

Comments

Top