अपहरणमा परेका बालकको गोली हानी हत्या

goli

   काठकाडौं । गत शनिवार राति रौतहटको कटहरीया नगरपालिका ९ बाट अपहरणमा परेका १३ वर्षीय बालक युवराज साहको गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

कटहरीया नगरपालिकाभन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका ५ को बाग्मती नदी किनारमा आज बिहान बालकको शव फेला परेको प्रहरीले जनाएको छ । बालकको कन्चटमा एक गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

कटहरीया ९ डुमरिया टोलका चिकित्सक दिलिप साहको छोरा युवराज शनिवार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए । बालक अपरहणमा परेपछि अपहरणकारीले बालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । अपहरणकारीले १ करोड रुपैयाँ मागेको भोलिपल्ट नै बालकको शव फेला परेको हो ।

बालक हराएको खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले सोमबार बिहान युवराजको शव फेला पारेको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादव रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

Comments

Top