सभामुख र उपसभामुखका विषयमा फेरि दोहोरियो कांग्रेसको अडान

ramchandra poudel

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीले सभामुख वा उपसभामुखमध्ये एक पद छाड्नुपर्ने दाबी दोहोर्‍याएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको व्यवस्थाअनुसार एउटै पार्टीले दुईवटा पद ओगट्न नहुने बताएका छन् । उनले कांग्रेस संविधान कार्यान्वयनको पक्षमा रहेको पनि बताए।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने–‘कांग्रेसलाई पद चाहिएको होइन । संविधानको व्यवस्थाअनुसार काम होस् भन्ने चाहन्छ ।’ सभामुख वा उपसभामुख पद संविधानमा भएको व्यवस्थाअनुसार नेकपाले एक पद छाड्नुपर्ने बताए । पौडेलले कांग्रेस यो अडानबाट कुनै पनि हालतमा पछाडि नहट्ने चेतावनी दिए ।

‘संसदमा कांग्रेस बहुमत छैन भन्दैमा संवैधानिक व्यवस्थालाई नेकपाले उल्लंघन गर्न पाउँदैन । बरु कांग्रेसले नपाए पनि केही छैन । अर्को फरक दलले पाउनुपर्छ ।’

सभामुखमा तत्कालीन माओवादी र उपसभामुखमा तत्कालिन एमाले तथा राष्ट्रिय सभामा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा माओवादीका तर्फबाट रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल बनेपछि कांग्रेसले सभामुख र उपसभामुखमध्ये एक पदमा दावी पेश गर्दै आएको छ । यद्यपि, नेकपाले सभामुख र उपसभामुख स्वतन्त्र व्यक्ति भएका कारण कुनैपनि पद नछाड्ने अडान राख्दै आएको छ ।

Comments

Top