आफ्नै घरबेटीलाई कारबाही गर्ने प्रचण्डको उद्घोष

prachanda

  चितवन । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदाहरुलाई धमाधम कारबाही गर्ने तयारी गरिरहेका बेला कारबाहीको लिष्टमा नअटाइएर विवादमा परेका नेकपाका अध्यक्ष प्रचण्डका घरवेटी माथि पनि कारबाही हुन सक्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएसँगै उनी पनि कारबाहीमा पर्न सक्ने भएका हुन् ।

मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने–‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन । म जसको घरमा बसेको छु, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । गृहमन्त्रीलाई बोलाएर आफ्नो घरबेटीलाई कारबाही नगर्न चेतावनी दिएको भन्ने समाचार आइरहेका बेला उनले त्यो गलत भएको बताए ।

प्रचण्ड अहिले ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।

Comments

Top