टुडे नामको खाने पानीको बोटलमा अखाद्य वस्तु

today

  कास्की । पोखराको याम्दीमा उत्पादित टुडे व्राण्डको बोतलको पानीमा अखाद्य बस्तु फेला परेको छ । पोखरा १६ चमेरोगुफास्थित अलइनवान अर्गानिक रेष्टुरेन्टमा विक्रीका लागि राखिएको पानीको बोतल भित्र लेउ देखिएपछि रेष्टुरेण्ट सञ्चालकले त्यसको जानकारी दिएका थिए ।

प्रसोधित भन्दै प्रति लिटर २५ रुपैयाँमा विक्री गर्ने पानीमा अखाद्य वस्तु फेला परेपछि उक्त उद्योगको चरम लापरवाही रहेको पुष्टि भएको छ । पानीमा लेदो भेटिएपछि खोलाको पानी सिधै वोतलमा भरी विक्री गरेर जनस्वास्थ्यमा गम्भिर खेलवाड गर्नेविरुद्ध कारवाही गर्नु पर्ने उपभोक्ता अधिकारवादीले खवरदारी गरेका छन् । वजार संरक्षण अधिकृत तथा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले अखाद्य वस्तु उत्पादन गरि विक्रीका लागि पठाउने कम्पनीहरुलाई कारवाही गरिने बताएका छन् ।

यस अघि पनि टुडे ब्राण्डका जार तथा वोतलहरुमा विभिन्न प्रकारका अखाद्य वस्तुहरु फेला पर्ने गरेका थिए । तर, पनि प्रशासनिक अनुगमन फितलो रहेको फाइदा उठाएर उपभोक्ता अधिकार माथि धावा बोल्दै आएका थिए । अव यस पटक कस्तो कारवाही हुन्छ त्यो भने हेर्न वाँकी छ । पर्यटकहरुको बढि चाप रहने र पर्यटकीय नगरी भनेर चिनिएको स्थानमा खाने पानी नै गुणस्तरीय नहुँदा त्यसले अन्तर्राष्ट्रिय स्तरसम्म असर पर्ने देखिन्छ । तर पनि त्यस्ता कम्पनीहरुमाथि सम्बन्धित निकायले कारबाही गर्ने आँट नगर्दा उनीहरु झन गलत गर्नेतर्फ उद्धत रहेको पाइएको छ ।

पछिल्लो समय सरकारले गुणस्तरहिन खाद्य बस्तु उत्पादन गर्ने कम्पनीहरुमाथि कारबाही गर्ने बताइरहँदा पोखरामा खाने पानीमा नै अखाद्य बस्तु फेला परेको हो । केही दिन अघि कृषी मन्त्रीले काठमाडौंका दुग्ध उद्योगहरुमा छापा मारेर शिल गरेका थिए ।

Comments

Top