जनताबाट उठाएको करमा महानगरको मनपरी, कानुन विपरित प्रतिदिन १२ हजार ५ सय भत्ता

pokhara

   पोखरा । नागरिकको कर र दाताको भरवाट चलेको पोखरालेखनाथ महानगरपालिकाको वजेट घुमफिरमा खर्च हुन थालेको पुष्टि भएको छ । कर्मचारीको नाममा राजनैतिक दल, सामाजिक कार्यकर्ता जनप्रतिनिधिहरुले फाइदा उठाउन महानगरको वजेट दोहन गर्नुलाई किमार्थ राम्रो मान्न सकिन्न ।

सरकारले समेत अनावश्यक भ्रमण रोकेर खर्च कटौती गर्ने नीति ल्याएको अवस्थामा स्थानिय सरकारका इकाइहरुले पनि मनोमानी ढंगले गरिने भ्रमण रोक्न पहल गर्नु पर्छ । तर, पोखरा लेखनाथ महानगरपालिकामा भने अझैसम्म पनि मनपरी चल्दै आएको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापना पछि सिंहदरवारको अधिकार गाउँ–गाउँमा आएपछि खर्च गर्ने शैलीमा पनि उस्तै स्वतन्त्रता बढेको छ । सरकारी निकायहरु समेत महानगरमा आइसकेको अवस्थामा कर्मचारीहरुले वेलैमा तलव खान नपाएको आवाज उठिरहँदा विभिन्न वहानामा घुमफिर गर्न मिल्ने गरि मोटै रकम खर्च छुट्याइएको पाइएको छ ।

यस्तै एउटा घुमफिर कार्य पोखरा लेखनाथ महानगरपालिका वार्ड नं. ७ ले भर्खरै सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिनै लाग्दा ७ नम्वर वडाले मानव संसाधन वजेट शिर्षकमा छुट्याइएको ५ लाख मध्यबाट झण्डै डेढलाख रुपैयाँ खर्च गरेर छिमेकी जिल्ला स्याङ्जाको पञ्चमुल सिरुवारी पुगेर फर्किएको छ । जेष्ठ २५ र २६ गते दुई दिने अवलोकन भ्रमण तथा पुनर्ताजगी तालिमको व्यानरमा कार्यक्रम सम्पन्न गरिएको खवर प्राप्त भएको छ ।

२७ जनाको भ्रमण टोलीले एक रात दुई दिने भ्रमणमा १ लाख ४३ हजार रकम खर्च गर्ने योजना बनाएर गएको टोलीमा व्यानरमा उल्लेख गरिए भन्दा भिन्न उपस्थिति रहेको थियो । व्यानरमा पोखरा लेखनाथ महानगरपालिका कर्मचारी र स्वास्थ्य स्वयम्सेविकाहरुका लागि अवलोकन भ्रमण तथा पुनर्ताजगी तालिम लेखिएको छ ।

तर, व्यानरमा लेखिए भन्दा फरक व्यक्तिहरुलाई पनि भ्रमणमा सामेल गराएर नगरपालिकाको खर्च सक्ने मेसो अपनाइएको छ । व्यानरका अनुसार कर्मचारी ८ जना, स्वास्थ्य स्वयम्सेविका ६ जना गरि १४ जनामात्र भ्रमणमा गएको देखिन्छ । तर, हाजिरमा भने २८ जनालाई पञ्चमुल सिरुवारी भ्रमणमा लगिएको खुल्न आएको छ ।

महानगरको खर्चमा भ्रमण जानेहरुमा वडा नं. ७ का जनप्रतिनिधिहरु, जनप्रतिनिधिले छानेका वडा भित्रका ४ जना सामाजिक कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ता एक जनार र प्रशिक्षक दुई जना गरि २७ जनालाई सहभागी गराइएको पाइएको छ । महानगरले व्यानरलाई हेरेर भुक्तानी दिन्छ कि हाजिरी हेरेर भुक्तानी दिन्छ त्यो भने हेर्न बाँकी छ ।

एक दिने प्रशिक्षणमा १२ हजार ५ सय भत्ता दिने प्रस्ताव गरिएको छ । जवकि सरकारी नियममा प्रति दिन दुई हजार ५ सय सम्म भत्ता दिन मिल्ने महानगरकै कर्मचारी बताउँछन् । कर्मचारीहरुको वृत्ति विकास गर्ने कार्यमा कुनै प्रश्न उठाउन जरुरी छैन । तर, कर्मचारीको नाममा अरुले फाइदा उठाउन भने पाउनु कतिसम्म उचित हो ?

Comments

Top