जब मेयरले रेलिङमा लगेर डोजर ठोक्काए

mayarreling

 काठमाडौँ । पोखराको फिर्के खोलामा पैदल मार्ग उद्घाटनको क्रममा महानगर प्रमुखले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाइते भएका छन् ।  महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दा डोजर चलाएपछि डोजरले नजिकै रहेको रेलिङ हानेको थियो । रेलिङमा अडेस लागेका पत्रकारहरु रञ्जन अधिकारी रसन्देश श्रेष्ठ छन् ।

 सोही ठाउँकी गौरी पौडेल लगायत अन्य पनि घाइते भएका छन् ।  फुट ट्रयाकको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर गर्ने कार्यक्रम थियो । उद्घाटनको फोटो खिच्न पत्रकार तथा स्थानीयहरु फिर्के खोलामा रहेको रेलिङमा आड लागेर बसेका थिए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे । प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए । मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्कायो ।

डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे । खोलामा खस्नेमध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ ।

पत्रकार रञ्जन अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ । उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिएको छ ।

 

Comments

Top