प्रधानमन्त्री ओली चीन प्रस्थान, कार्यवाहकको जिम्मा पोखरेल र नेपाललाई

kp china

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन तर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरुलगायतले बिदाई गरेका थिए ।

उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सम्मान गारद अर्पण गरेको थियो । ओली चीन जानु अघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहेकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हुन लागेको यो भ्रमणमा ओली जम्बो टोली लिएर गएका छन् । निजी क्षेत्रको हिमालयन एयरलाइन्समा उनको भ्रमण टोली बेइजिङ जाने छ । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् । टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा। राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा। राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत छन् ।

भ्रमणका अवसरमा कोसी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रूपान्तरण गर्ने विषयदेखि रेलमार्ग अध्ययन गर्ने, तिब्बतको राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा नाकासम्म पुर्‍याउने, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, रसुवागढी र तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माण, देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीमा हस्ताक्षर हुने बताइएको छ ।

Comments

Top