डा. देवकोटाप्रति श्रद्धासुमन

devkota_1

    काठमाडौं । सोमबार निधन भएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि उनी आफैंले स्थापना गरेको न्यूरो अस्पताल, बाँसबारीमा राखिएको छ । केही समयदेखि पित्त नलीको क्यान्सरबाट पीडित ६५ वर्षीय देवकोटाको उपचारका क्रममा सोमबार साँझ ५ः३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा नै निधन भएको थियो ।

डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचारपछि स्वदेशमै देहत्याग गर्ने इच्छाअनुसार गत वैशाख १५ गते मुलुक फर्किएका थिए । उनको पार्थिव शरीरलाई श्रद्घाञ्जलीका लागि मंगलबार १ बजेसम्म न्युरो अस्पतालमा राखिने छ ।

डा. देवकोटालाई श्रद्घाञ्जली दिन हिजै साँझ प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए । नेता, सहकर्मी मात्र होइन, सार्वसाधारण पनि डा. देवकोटालाई श्रद्धान्जली दिन पुगेका छन् । देवटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराई पनि अस्पताल पुगेका छन् ।

उनको शीरमा नेपाली ढाका टोपी छ । परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । अस्पतालमा श्रद्घाञ्जली दिइएपछि उनको शवलाई नारायण गोपाल चोक, रिंगरोड हुँदै पशुपति आर्यघाट पुर्‍याई विद्युतीय माध्यमवाट दाहसंस्कार गरिने न्यूरो अस्पतालले जनाएको छ ।

dr devkota

उनको काजकिरिया हेपाली हाइटस्थित निवासमा श्रीमती मधु दीक्षित देवकोटा र छोरीहरु मेघा, वसुधा र मञ्जरीले गर्नेछन् । परिवारका अनुसार काजकिरिया ७ दिनमा सकिने छ ।

Comments

Top