लगातारको जितपछि अन्तिम १६ नजिक रुस, जापानको ऐतिहासिक जित

japan_1

   काठमाडौं । आयोजक रुससँग पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३–१ गोल अन्तरले हरायो ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो । ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराएका थिए ।

त्यसपछि डेनिस चेरसिभले ५९ औं मिनेटमा अर्को एक गोल थप्दै खेललाई २–० को अवस्थामा पुर्‍याए । त्यसको तीन मिनेटपछि अर्थात ६२ औं मिनेटमा डेइवाले अर्को गोल गरे र, रुसले ३–० को अग्रता लियो । ७३ औं मिनेटमा इजिप्टले पेनाल्टीमार्फत् एक गोल फर्कायो । इजिप्टका लागि चर्चित स्ट्राइकर मोहम्मद सलाहले गोल गरे ।

मोहम्मद सलाहलाई रुसका खेलाडीले डीबक्सभित्र लडाएका थिए । सुरुमा रेफ्रीले फ्रीकिक दिएका थिए तर भिडियो रिप्ले हरेपछि फेरि पेनाल्टी दिने निर्णय लिए । यो जितसँगै समूह ‘ए’बाट रुस ६ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि रुसले विश्वकप उदघाटन खेलमा साउदी अरबलाई ५–० ले हराएको थियो । जारी विश्वकपमा रुसले ८ गोल गरिसकेको छ भने १ गोल खाएको छ ।

यता, फिफा विश्वकपमा जापानले ऐतिहासिक जित हात पारेको छ। मंगलबार भएको समूह ‘एच’ को खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै जापान दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो एसियन टिम बनेको छ। यस्तै जापानले गत विश्वकपमा कोलम्बियासँग हात पारेको ४–१ गोलको बदला समेत लिएको छ। जापानले कोलम्बियालाई पहिलो पटक पराजित गर्दै अर्को इतिहास बनायो।

Russia-beat-Egypt-by-3-1

खेलको सुरुवातमै कोलम्बिया १० खेलाडीमा सीमित बनेको थियो। डिबक्स भित्र ह्यान्ड गरेपछि कोलम्बियाका सान्चेजले सिधा रातो कार्ड पाएका थिए। त्यसपछि प्राप्त पेनाल्टीमा जापानका सिन्जी कागावाले गोल गर्दै जापानलाई अग्रता दिलाए।

१० खेलाडीमा सीमित हुनुका बावजुद कोलम्बियाले ३९ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। डिबक्स नजिक पाएको फ्रिकिकमा क्युन्टेरोले गोल गरेका थिए। ७३ मिनेटमा ओसाकोले हेडमार्फत गोल गरेर जापानलाई दोस्रो पटक अग्रता दिलाए। उनले कर्नरबाट प्राप्त बलमा गोल गरेका थिए।

Comments

Top