मेगा बैंक डुबाउने खेलमा सञ्चालकहरू, ६ सय रुपैयाको शेयर मूल्य झरेर १७९ रुपैयामा सीमित

megabaink

 काठमाडौं । मेगा बैंक नेपालका सञ्चालकहरू आफ्नै सञ्चालक डुबाउने खेलमा लागेका छन् । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रियामा ठूलो आर्थिक चलखेल गरी लगानीकर्ता डुबाउने खेलमा लागेका हुन् । ड्यु डेलिजेन्स अडिट (डीडीए) प्रतिवेदनको सुझाव अगावै ९५ प्रतिशत स्वाप रेसियोमा मर्जर सम्झौता गरी दुवै बैंकका केही सञ्चालकले ठूलो परिमाणमा इन्साइडर ट्रेडिङ गरेको लगानीकर्ताको ओराप छ । डीडीए रिपोर्टमा दुई बैंक मर्जर प्रक्रियामा स्वाप रेसियो ९१ दशमलव ९७ प्रतिशत कायम गर्ने सुझाव दिइएको थियो ।

 तर, बैंकको चुक्ता पुँजी पुग्नै लागेको अवस्थामा भित्रि कारोबारमा संलग्न केही सञ्चालकले बैंकलाई जवरजस्ती मर्जर प्रक्रियामा लगेर लगानीकर्तालाई नोक्सानमा पारेको लगानीकर्ताको आरोप छ ।  मर्जर अघि बोनस तथा ६५ प्रतिशत हकप्रदबाट मेगा बैंक आफ्नै चुक्ता पुँजी ७ अर्ब ५७ करोड रुपैया  पुग्ने भए पनि सञ्चालकहरूको चलखेलबाट जवरजस्ती मर्जरमा लगिएका मेगा बैंकका सस्थापक लगानीकर्ताको आरोप छ । मेगा बैंकका वर्तमान अध्यक्ष एवम् मर्जर प्रक्रिया सम्बन्धीका तत्कालीन संयोजक भोजबहादुर शाहको संयोजकत्वमा २०७२ असोज ५ गते बसेको मर्जर कमिटीको बैठकमा शाह आफैंले पुलिङ प्रक्रियाबाट १०५.२ः८० सम्मको शेयर स्वाप रेसियो कायम गर्न सकिने अन्तिम भनाइ रहेको बताएका थिए ।

  तर, शाह बैंकको अध्यक्ष भएपछि आफैंले राखेको प्रस्ताव मिचेर १००ः९५ को स्वाप रेसियोमा मर्जरको सम्झौता गरेका हुन् । सो समय टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष डा. पुष्प कंडेलले बैंंकको गृहकार्य अनुसार ८७.३५ः१०० वा ८९ः१०२ गरी दुईवटा वैकल्पिक शेयर स्वाप रेसियो कायम गर्न सकिने प्रस्ताव गरेका थिए । तत्कालीन समितिको बैठकको निर्णय मिच्दै गरिएको सम्झौतामा हस्ताक्षरमा सबै सञ्चालकलाई समेत जानकारी नदिएको घटनाले केही सञ्चालक आफैं यस्तो खेलमा लागेको बताइएको छ ।

 त्यस्तै सीएससी एन्ड कम्पनी चार्ट एकाउन्टेन्टसका निर्देशक मदनकृष्ण शर्माले २०७४ असोज २३ गते दिएको प्रतिवेदनमा स्वाप रेसियो ९१ दशमलव ९७.१०० प्रतिशत हुनुपर्ने सुझाव छ । पश्चिमाञ्चल फाइनान्सलाई गाभेर २५ प्रतिशत हकप्रद तथा १३ दशमलव २५ प्रतिशत बोनस वितरण गरेको मेगा बैंकले फेरि ६५ प्रतिशत हकप्रद बाँडेको को थियो । त्यस्तै मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको टुरिजमले १८ दशमलव ६ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद जारी गरेर मात्र मर्जरको प्रक्रियालाई अघि बढाउने सम्झौता भएको थियो । २०७३ माघ ६ गतेको मर्जर सम्झौताअनुसार मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको स्वाप रेसियो मेगाको हकमा १ सय ८७ दशमलव २५ र टुरिजमको हकमा २ सय ७ हुने देखिन्छ ।

 सम्झौतामा ९५ प्रतिशत स्वाप रेसियो कायम गर्नुमा मेगा बैंकका केही सञ्चालकको टुरिजममा ठूलो मात्रामा शेयर भएकाले उनीहरुले टुरिजम बैंकको शेयरलाई बास्तविक मूल्यभन्दा बढी मूल्य दिइएको बुझिएको छ । टुरिजम डेभलपमेन्टको शेयर मूल्य महं“गो कायम गरी ठूलो हिस्सा शेयर आफन्तको नाममा खरिद गरेको बैंकसम्बद्ध स्रोतले जनाएको छ । मेगा बैंकको शेयर मूल्य बढी रहेको र मर्जरमा गएपछि अहिले न्यून मूल्यमा किनेको शेयरको मूल्य बढ्ने भएकाले मेगाका सञ्चालकले टुरिजमको ठूलो हिस्सा शेयर आफ्ना मान्छेको नाममा लिएको स्रोतको दाबी छ ।

 लगानीकर्ता भने सञ्चालक समितिका केही सदस्यले आफ्नो स्वार्थका लागि बैंकलाई नै धरापमा पारेको आरोप लगाउ“छन् । टुरिजम डेभलपमेन्ट बैंक खरिद गर्ने हैसियत भएको मेगाले मर्जरमा जानुमा ठूलो चलखेल रहेको शेयरधनीको दाबी छ । मेगा बैंकका सञ्चालकहरूको असक्षमताका कारण बैंकका साधारण लगानीकर्ताहरू धितोपत्र बजारमा पीडित बन्न पुगेका छन् ।

 बैंक सञ्चालनमा आएको करिब आधा समयसम्म धितोपत्र बजारमा मेगा बैंकको शेयर कारोबार रोकिन पुगेको छ । २०७० साल साउन महिनाको २५ गते बैंकको पहिलोपटक नेप्सेमा कारोबार सञ्चालनमा ल्याएको थियो । पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँगको मर्जरका कारण बैंकको शेयर कारोबार २०७१ साल माघ १५ गतेदेखि रोकिएर २०७३ साल जेठ १६ गतेसम्म (१६ महिनापछि) कारोबार सञ्चालनमा आएको थियो ।

 पछिल्लो पटक मेगा र टुरिजम डेलपमेन्ट बैंकबीचको मर्जर प्रक्रियाका नेप्सेमा २०७३ माघ ६ गतेदेखि २०७५ जेठ १४ गतेसम्म ४९१ दिन कारोबार रोकिएको थियो । नेपालको बैंकिङ क्षेत्रमा मर्जरकै कारण यति लामो समयसम्म धितोपत्र बजारमा कारोबार रोकिएको मेगाकै सम्भवत पहिलो घटना हो । केही सञ्चालकहरू निहित स्वार्थका कारण हजारौं लगानीकर्ता पीडित बन्न पुगेका छन् । साना–साना लगानीकर्तालाई समेटेर बैंक खडा गरिएको तथा अधिकांश छिमेकी र राजनीतिकरूपले नजिक भएका कारण मेगा बैंकमा भएको मनोमानीविरुद्ध खुलेर बोल्न हच्किने गरेको लगानीकर्ताको भनाइ छ ।

 सञ्चालकहरूको अकर्मन्यताका कारण धितोपत्र बजारमा करिब चार वर्ष कारोबार रोकिँदा सयौं लगानीकर्ताको पुँजी फ्रिज भएको छ । शेयर लगानीलाई चल सम्पत्तिको रुपमा प्रयोग गर्ने लगानीकर्तालाई चार वर्ष जति कारोबार रोकिँदा मेगा बैंकको शेयर ‘सिमलको काठ’ (हेर्दा काठ ठूलो देखिन्छ तर त्यसको झ्याल , ढोका नबन्ने)जस्तै भएको लगानीकर्ताको गुनासो छ। कुनै बेला ६ सय रुपैयाको हाराहारीमा पुगेको मेगा बैंकको शेयर मूल्य अहिले १७९ रुपैयामा सीमित रहेको छ ।

 ‘हलोदेखि हाइड्रो’ भन्ने नारा दिए पनि बैंकिङ पृष्ठभूमि नभएका व्यक्ति सञ्चालक हुँदा बैंकले पर्फमेन्स कमजोर देखिएको छ । पछिल्लो पटक बैंकलाई आफ्नो कब्जामा राख्न केही सञ्चालक लागिपरेका छन् । आगामी असार २९ गते हुने साधारणसभालाई केन्द्रित भएर बैंकका अध्यक्ष भोजबहादुर शाह, सञ्चालकद्वय गोपाल खनाल र मदन आचार्यको चलखेल तीव्र रहेको छ । १२ सयभन्दा बढी संस्थापक शेयर सदस्य रहेको बैंकमा साधारणसभामा सबै शेयरधनी उपस्थिति नहुने र बैंकलाई आफ्नो कब्जामा राखी राख्न अहिलेदेखि नै प्रोक्सी लिने काम भइ रहेको छ । राजनीतिक रुपले निकट र गाउले छिमकी रहेका शेयरधनीलाई हस्ताक्षर गराउने र प्रोक्सी लिन समूह नै लागेको छ । (नेपाल समाचारपत्र )

Comments

Top