ओलीको उपस्थितिमा नेपाल र चीनबीच आठ परियोजनामा हस्ताक्षर

olichina

 बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् ।

 दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीले नेपालमा बहुमतको स्थायी सरकार बनेको भन्दै चिनियाँ व्यापारी र सरकारलाई लगानी गर्न आह्वान गरेका थिए  ।

 चीनको भ्रमणमा रहेका ओलीले बुधबार बिहान बेइजिङमा सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको बताए । ‘मेरो नेतृत्वमा कम्यनिस्टहरूको स्थायी सरकार बनेको छ’, उनले भने, ‘तपाईहरू डराउनु पर्दैन । निर्धक्कका साथ लगानी गर्नुस् ।’प्रधानमन्त्री ओलीले नेपाल सुशासन र विकासको बाटोमा अगाडि बढेको बताए । उनले छिमेकीहरूको सहयोग लिएर विकास गर्न चाहेको बताए । नेपालमा मजदुरहरूको कुनै समस्या नरहेको भन्दै ओलीले सस्तैमा मजदुरहरूले काम गर्ने बताए । ‘मजदुरहरूको ज्याला पनि धेरै महँगो छैन’, उनले भने, ‘बन्द हड्तालको समस्या पनि छैन ।’

Comments

Top