मिसनमा महिला सहभागिता बढाउन आईजीपीको पहल, राष्ट्रसंघीय उच्च पदाधिकारीहरूसँग भेट

rastriya

 काठमाडौं । संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलनमा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले विभिन्न क्षेत्रका उच्च पदस्थ पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेका छन् ।

 आइजीपी खनालले संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, राष्ट्र संघका शान्ति मिसन हेर्ने उपमहासचिव जीन पियरे लेक्रोइक्स, कानुनी शासन हेर्ने सहायक महासचिव अलेकजेन्डर जौवेव तथा राष्ट्र संघका प्रहरी विभाग प्रमुख प्रहरी सल्लाहकार लुइस क्यारिलियो, प्रहरी उपप्रमुख शोवेन योङ एवं राष्ट्र संघीय प्रहरी भर्ना छनौट महाशाखाका प्रमुख एटा येनिगुन, एफपीयू संयोजक भिक्टर हर्नान्डेज़, स्याट संयोजक आइस महाडेनलगायतका उच्च पदस्थ पदाधिकारीहरूसँग मंगलबार शिष्टाचार भेट गरेका हुन् ।

 भेटका क्रममा आईजीपी खनालले राष्ट्र संघीय उच्च पदस्थ पदाधिकारीहरूबाट नेपालले राष्ट्र संघलाई पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै आगामी दिनमा सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेका थिए ।

 नेपालले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा द्वन्द्व पछिका विभिन्न संकटग्रस्त मुलुकहरूमा शान्ति स्थापनामा सहयोग गर्ने आफ्नो उत्तरदायित्वलाई ईमान्दारीपूर्वक पुरा गर्दै आएको बताउँदै आईजीपी खनालले भने–‘ नेपाल प्रहरीले आफ्ना अत्यन्त व्यवसायी, अनुभवी, सीप तथा क्षमतायुक्त प्रहरी कर्मचारीहरूलाई एफपियू तथा राष्ट्र संघको प्रधान कार्यालय तथा फिल्ड मिशनहरूमा खटाएर विश्व शान्ति, द्वन्द्व पछि तहसनहस भएका प्रहरी संगठनहरूको निर्माण एवं पुनर्निर्माण, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, घरेलु एवं लैंगिक हिंसाका घटनाको न्यूनिकरण र नियन्त्रण, नागरिकको संरक्षण, अन्तर्देशीय अपराध तथा आतंकवाद नियन्त्रण गर्ने कार्यमा सहयोग पु-याउँदै आएको छ र आगामी दिनमा यस्तो सहयोगको निरन्तरता रहने छ ।’

 भेटका अवसरमा संयुक्त राष्ट्र संघका महासचिवको कार्ययोजना अनुसार सन् २०२० सम्ममा राष्ट्र संघमा महिला सहभागितालाई २० प्रतिशत पु-याउने लक्ष्य रहेको हुँदा सदस्य राष्ट्रहरूले आ-आफ्नो भर्ना प्रणालीमा तद्अनुरुप मिलाई महिला प्रहरी संख्या बढाउनुपर्ने सुझाव राष्ट्र संघका पदाधिकारीहरूले दिएका थिए । यसबारे आइजीपी खनालले संयुक्त राष्ट्र संघको आवश्यकता अनुसार प्रहरी कर्मचारी भर्नामा महिला सहभागिता समेत बढाउने उद्देश्यले सकारात्मक पहल थालिएको र मिसनमा बढी भन्दा बढी महिला सहभागिता गराउन तयारी समेत गरिएको जानकारी दिएका छन् । आइजीपी खनाल बुधबारबाट सुरू सम्मेलनमा सहभागी हुन असार ३ गते अमेरिका प्रस्थान गरेका थिए ।

Comments

Top