३३ केजी सुन तस्करी प्रकरण : पोद्दार र अकबर पक्राउसँगै पूर्व एआईजीहरु पनि तानिदै

kayasthagold_1

  काठमाडौं । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद थपिएसँगै समिति थप सक्रिय भएको छ । बुधबार मात्र समितिले सुन तस्करीसँगै हुण्डी कारोवारमा डन मानिने व्यापारी विमल पोद्दारलाई पक्राउ गरी अनुसन्धान थालेसँगै सुन तस्करी प्रकरणमा नयाँ अनुहार तानिन थालेका छन् ।

काठमाडौंको कालिकास्थानमा रहेको सन सिटी अपार्टमेन्टका लगानीकर्ता पोद्दारलाई बिजुलीबजारबाटै पक्राउ गरिएको थियो । उनको पक्राउ पछि प्रहरीले उनी बस्ने अपार्टमेन्टमा बिहीवार छापा समेत मारेको थियो । पोद्दार विदेशी मुद्रा र सुन तस्करीमा पूर्व एसएसपी रविराज श्रेष्ठसँग मिलेर काम गर्दथे । उनको पूर्व एआईजीद्धय विजयलाल कायस्थ र विज्ञानराज शर्मासँग पनि सेटिङ रहेको छ । शर्माका भाई दया र पोद्दार विजनेश पार्टनर हुन् ।

पोद्दारलाई पक्राउ गरेको दुई दिनपछि बिहीवार साँझ एक अर्का व्यवसायी अकबर साह पक्राउ परेका छन् । सुन प्रकरणमा पक्राउ परेका अकबर साह २०६६ माघ २४ गते काठमाडौंको लाजिम्पाटमा गोली हानी हत्या गरिएका सञ्चार उद्यमी जमिम साहका भतिजा हुन् । अकबरका बुवा मकबुल साह प्रभावशाली ठेकेदारका रुपमा गनिन्छन् ।

अकबरको अन्तर्राष्ट्रियस्तरका माफियासँग सम्पर्क रहेको स्रोतको दावी छ । संयुक्त अरब इमिरेट्स दुबईमा सक्रिय माफिया समूहसँगको सम्पर्कमा अकबरले नेपालमा सुन तस्करी गर्ने गरेको प्रारम्भिक प्रमाण फेला परेको गृह मन्त्रालय निकट स्रोतले जनाएको छ ।

पोद्दार र अकबर बयान शुरु भएसँगै नेपाल प्रहरीका केही पूर्व उच्च अधिकारको पनि तानिने भएका हुन् । समिति स्रोतका अनुसार पेद्दारले एआईजीदेखि ठूला व्यापारीसम्मको सहयोगले आफूले काम गर्ने गरेका बयान दिएको बताइएको छ । स्रोतका अनुसार पोद्दारले प्रहरीका पूर्व एआईजीहरु राजेन्द्रसिंह भण्डारी, बिज्ञानराज शर्मालगायतको नाम पोलेका हुन् ।

उनले भण्डारी र शर्मा मिल्ने साथी भएको भन्दै आफूलाई उनीहरुले नै सहयोग गर्ने बताएका छन् । पोद्दार र अकबर पक्राउ परेसँगै सुन तस्करी प्रकरसणमा समिति ठूला माछा नजिक पुगको बताइएको छ । यस अघि पक्राउ परेका मुख्य नाइके भनिएका चुँडामणी उपे्रती उर्फ गोरे व्यवस्थापक मात्र भएको खुल्न आएपछि समितिल अझै सक्रिय बनेको थियो ।

Comments

Top