कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न, पौडेलले भने–‘मेरो कुनै गुट छैन’

ramchandra

 

  हेटौंडा । १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला समापन भएको छ । मंगलबारबाट हेटौंडामा सुरु भेलाले जारी गरेको घोषणापत्रको पहिलो बुँदामा भनिएको छ ‘पार्टी विधान सम्बन्धि विभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन हुनेमा यो भेला विश्वस्त पार्दछ ।’
४ दिनसम्म चलेको नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टीको पहिलो हारको समीक्षा गरेको छ । कार्यक्रमले एकताको सन्देश दिने प्रयास गरेको बताइएको छ ।

समापन कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी बलियो बनाउन निस्वार्थ रुपमा लाग्ने धारणा राखेका छन्। पौडेलले आफू कुनै गुटमा समेत नरहेको दाबी गर्दै भने–‘मेरो कुनै गुट छैन। पार्टी बलियो बनाउन म निस्वार्थ रुपमा लाग्छु ।’
यसका लागि सभापति शेरबहादुर देउवाले पनि सबैलाई कांग्रेसको मान्छे भन्ने वातावरण तयार गर्नुपर्ने पौडेलको सुझाव थियो। यसो गरेमा देउवा पुनः नेतृत्वमा आउन सजिलो हुने र प्रधानमन्त्रीसमेत हुने पौडेलले बताए। यसका लागि आफु जेसुकै गर्न तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे।

सरकारले प्रेस र न्यायालय, गैरसरकारी संस्था,कर्मचारी प्रशासन लगायत विभिन्न क्षेत्रमा नियन्त्रणकारी हस्तक्षेप गर्ने नीति लिएर सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिने घोषणापत्रमा उल्लेख छ। ‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, प्रेस स्वतन्त्रता स्वतन्त्र न्यायालय ट्रेड युनियन अधिकार विद्यमान कानुन अन्तर्गत रही निर्वाध पेशा व्यवसाय गर्ने अधिकार लगायत लोकतन्त्रले स्थापित गरेका मूल्यमान्यताको रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिने प्रण गर्दछ ।’ घोषणापत्रको दशौं बुँदामा लेखिएको छ।

कांग्रेस सरकारका निर्णयलाई निरन्तरता नदिएकोमा पनि जिल्ला सभापतिको भेलाले सरकारको आलोचना गरेको छ। ‘कांग्रेस सरकारले भूकम्पपीडितलाई थप १ लाख दिने, क्यान्सर, मृगौला रोगी, स्पाइनल इन्जुरी लगायतका गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्ता स्वरुप ५ हजार उपलब्ध गराउने, ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने जस्ता जनहितकारी निर्णयलाई उल्ट्याउनुले यो सरकारको सामाजिक सुरक्षाप्रतिको संवेदनहिनतालाई उदाङ्गो पारेको छ ।’ घोषणापत्रमा उल्लेख छ।

त्यस्तै संविधान संसोधनलाई सत्ताको सौदावाजीका रुपमा सरकारले प्रयोग गरेको आरोप पनि जिल्ला भेलाले लगाएको छ। घोषणापत्रमा ‘संशोधन गर्छौं भन्ने तथा अलमल्याइराख्ने र त्यसलाई सत्ताको सौदावाजीका लागि प्रयोग गर्ने प्रवृत्तिलाई मधेसमाथिको नयाँ षड्यन्त्रका रुपमा यो भेला ठहर गर्छ’ उल्लेख छ ।

तत्कालिन एमालेको राष्ट्रवाद सत्तामा पुगेपछि लम्पसारवादमा परिणत भएको पनि घोषणापत्रमा उल्लेख छ। घोषणापत्रमा सरकारले संघीयतालाई संकुचन गर्न स्थानीय र प्रदेशका अधिकार कुण्ठित हुने खालको नीति तथा कार्यक्रम र बजेट ल्याएको, बजेट विनियोजनमा विभेद गरेको आरोप लगाइएको छ।

कांग्रेसको आन्तरिक संगठन सुधारका लागि भातृ र शुभेच्छुक संस्थाहरूको समयमै अधिवेशन गर्न,पार्टीले यो वर्षलाई प्रशिक्षण वर्षको रुपमा मनाउन, महासमिति बैठकको समय र स्थान अबिलम्ब तोक्न र आन्तरिक सहअस्तित्व कायम गर्न पनि भेलाले पार्टीलाई आग्रह गरेको छ। त्यस्तै स्थानीय तह देखि केन्द्र सम्म कांग्रेका प्रस्तुतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ।

Comments

Top