हार स्वीकार्दै सभापति देउवाले भने–‘पार्टीलाई कुनै पनि हालतमा एक नम्बर बनाउँछु’

deuwa

  हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन्। जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते व्यक्त गरेका छन् ।
‘कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ। बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ। यसका लागि साथीहरु पनि लाग्नुपर्‍यो। म पनि आजैबाट लाग्छु’– देउवाले भने।

देशभरका साथीहरुले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति थियो। स्थानीय तहदेखि प्रतिनिधि तहसम्म तीनै चुनाव सकिएको करिब एक वर्षपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट वितरणमा गल्ती भएको स्विकारेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत आफ्नो कमजोरी र गल्ती भएको स्विकार्न तयार नभएका देउवा जिल्ला सभापतिको भेलामा आइपुग्दा आफ्नो तर्फबाट टिकट वितरणमा गल्ती भएको स्विकार्ने अवस्थामा पुगेका हुन् ।यसअघि पार्टी केन्द्रीय समितिको बैठकमा हारको जिम्मेवारी व्यक्तिगतरुपमा आफूले मात्र नलिएर सिङ्गो केन्द्रीय समितिलाई नै हारको जिम्मेवारी लिन लगाएका देउवाले जिल्ला सभापतिको भेलामा आइपुग्दा भने सो कमजोरी आफ्नो तर्फबाट भएको स्विकारेका हुन् ।


यसैबीच प्रधानन्यायाधीशलाई महाभियोग लगाएको सन्दर्भमा सभापतिहरुले बन्दसत्रमा देउवाबाट जवाफ मागेका थिए। देउवाले जाली काम गर्नेलाई सहयोग गरेकाले सुशीला कार्कीलाई महाभियोग लगाउन बाध्य भएको भन्दै जवाफ फर्काएका छन् । देउवाले भने–‘त्यो जाली काम गर्ने सिलवाल९सांसद नवराज सिलवाल० अहिले कुन पार्टीमा छ ? दुईटा कार्यसम्पादन मुल्यांकन बोकेर हिडेको छ।

त्यस्तो कामलाई सदर गरिदिने उही प्रधानन्यायाधीश। त्यसैल बाध्य भएर महाभियोग लगाउनुपर्‍यो।’ सत्य कुरामा धेरैले विश्वास नगर्ने देखिएको देउवाको गुनासो थियो।

सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। समापन समारोहमा देउवाले जिल्ला सभापतिहरुको सुझाव पार्टीका लागि निकै महत्वपूर्ण भएको धारणा राखे।

१९ बुँदे हेटौंडा–घोषणापत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला समापन भएको छ । मंगलबारबाट हेटौंडामा सुरु भेलाले जारी गरेको घोषणापत्रको पहिलो बुँदामा भनिएको छ ‘पार्टी विधान सम्बन्धि विभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन हुनेमा यो भेला विश्वस्त पार्दछ ।’

Comments

Top