सट्टेबाजी गिरोहका नाइके नागराज पक्राउ, सम्पत्ति सुद्दिकरण र ठगीमा मुद्दा चल्ने

naagraj 123

   काठमाडौं । खेलमा सट्टेबाजी गराउँदै आएको अन्तर्राष्ट्रिय गिरोहका नाइके अमृत भन्ने नथमल अग्रवाल उर्फ नागराज पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी फरार भएका नागराजलाई शनिबार पानीपोखरीबाट पक्राउ गरेको हो ।

नागराज राकेश सिंहलगायतका व्यक्तिहरुबाट उक्त रकम उठाई फरार भएका थिए । नागराजलाई ठगी र सम्पत्ति सुद्दिकरण मुद्दामा अनुसन्धान गरी कारबाही गरिने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।
यसअघि नागराजकै समूहका गौरव तिवारीलगायत पाँच जनालाई महानगरीय प्रहरी परिसर काठमाडाैंले पक्राउ गरी जुवा ऐन अन्तर्गत मुद्दा चलाई छाडेको थियो । सट्टेबाजी मार्फत झण्डै १४ करोडको अवैध कारोबार गरेको तिवारीको समूहलाई परिसरले मुद्दा कमजोर बनाई जुवा ऐन अन्तर्गतमात्र मुद्दा चलाउँदा उनीहरु दुई सय रुपैयाँ धरौटीमा छुटेका थिए । जुन विषयले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा ठूलो हंगामा मच्चिएकाे थियो ।

Comments

Top