एसएसपी पोखरेलविरुद्ध अदालतको अपहेलनामा मुद्दा दर्ता, गृहद्धारा छानविन समिति गठन

bishwo pokhrel apahelana

   काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलविरुद्ध अदालतको अपहेलनामा मुद्दा दर्ता भएको छ । अनिल विश्वकर्मा (गजमेर) नामका व्यक्तिले एसएसपी पोखरेल र राधिका कटुवाल नामकी महिलाविरुद्ध उच्च अदालत पाटनमा आज मुद्दा दायर गरेलगत्तै अदालतले अपहेलनामा मुद्दा दर्ता गरेको हो ।

कटुवाल र विश्वकर्माबीच लामो समयदेखि लेनदेन कारोबार रहेको थियो । विश्वकर्मा माई इन्भेष्टमेन्ट ग्रुप नामका कम्पनीका सञ्चालक हुन् । २०७४ पुस २६ गते उच्च अदालतका न्यायाधीशद्धय हरिप्रसाद केसी र बलभद्र बास्तोलाको आदेशले लेनदेन कारोबारको देवानी प्रकृतिको विषयमा निवेदक(विश्वकर्मा) लाई धरपकड गर्ने, तथा जवर्जस्ती कागज गराउने समेतका कुनै पनि कार्य नगर्नु/नगराउनु भनी निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

तर, परिसर प्रमुख एसएसपी पोखरेलमाथि गत जेठ ६ गते विश्वकर्माले आफूलाई पक्राउ गरी जेठ ७ गते कटुवालको नाममा ६ महिना पछिको ४५ लाख रकमको चेक काट्न लगाई सहमति गराएर छाडेको आरोप लागाएका थिए । त्यसलगत्तै विश्वकर्माले अदालतको आदेश विपरित पोखरेलले जवर्जस्ती चेक काट्न लगाई आफूलाई अन्याय गरेको भन्दै गृह मन्त्रालयमा पोखरेलविरुद्ध कारबाही गरी शान्तिसुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

ssp pokhrel

गृहले जेठ ३० गते प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई सो सम्बन्धमा के भएको हो ? आवश्यक कारबाही गरी कारबाहीको जानकारी दिन भन्दै पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति नै गठन गरेको छ ।

स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयका एसएसपी राजेशलाल कर्णको संयोजकत्वमा गठन भएको पाँच सदस्सीय समितिले एसएसपी पोखरेल, विश्वकर्मा र कटुवालसँग छुट्टा छुट्टै बयान लिइसकेको छ । समितिले प्रतिवेदन भने गृहलाई बुझाई सकेको छैन । पोखरेलविरुद्ध एकातिर प्रहरीले छानविन समिति बनाउनु र अर्कोतिर अदालतमा नै अपहेलना मुद्दा दर्ता भएपछि उनी थप विवादमा तानिएका छन् ।

Comments

Top