क्षमताकै अाधारमा सरुवा र बढुवा गरिएकाे हाे : आईजीपी खनाल

igp sarbendra khanal press meet

   काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले हालसम्म गरेका कामका प्रगति विवरणहरु सार्वजनिक गरेका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै आईजीपी खनालले आफ्नो कामलाई तीन तहमा विभाजन गर्दै शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेका बताएका छन् ।

आईजीपी खनालले लागू औषध नियन्त्रण र मानव बेचबिखनविरुद्ध अभियान नै चलाएर प्राथमिकतामा राखी काम गर्ने बताएका छन् । प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक गृहकार्य भइरहेको र संरचना निर्माण पनि भइरहेको उनले उल्लेख गरे ।

हालै भएको एसपी र डिएसपीको सरुवा र पोष्टिङको विषयमा सोधिएको प्रश्नको जावाफ दिंदै उनले भने–‘म राम्रो काम गर्ने अफिसरको पक्षमा छु । तर सबै राम्रो काम गर्ने अफिसरले सधैं राम्रो ठाउँ पाउँछ भन्ने होइन । नराम्रो काम गर्नेलाई तानिएको पनि छ ।’  खनालले विभिन्न समयमा गरेका कामका मूल्यांकन र क्षमताकै आधारमा सरुवा बढुवा गरिएको दावी गरे । एसपीहरूले मलाई भेटेर न्याय पाएँ भनेर खुसी व्यक्त गरेको भन्दै आईजीपी खनालले सरुवा र बढुवामा कुनै विवाद नभएको उल्लेख गरे ।

खनाल आईजीपी बनेपछि प्रहरीमा बर्षौंदेखि रोकिएको सई देखि डिआईजीसम्मको बढुवा र सरुवा समेत भइसकेको छ । त्यसबारेमा पनि उनले प्रष्ट पारेका थिए । आईजीपी खनालले आर्थिक पारदर्शिताप्रति आफू सचेत रहेको उल्लेख गरे । प्रहरीमा ९० प्रतिशत बेरुजु फछ्र्योट भइसकेको र यो उदाहरणीय रहेको पनि उनले दावी गरे ।

साढे ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान प्रकरणमा सरकारले छुट्टै समिति बनाई छानविन गरिरहेको हुँदा त्यस विषयमा आफ्नो क्षेत्राधिकार नभएको तर आफू जानकार रहेको पनि उनले प्रष्ट पारे । आफूले नेतृत्व सम्हाल्नुअघि नै सरकारले समिति गठन गरिसकेको हुँदा समितिलाई आफूले निर्देशन दिन नमिल्ने खनालले प्रस्ट पारे।

 ३३ किलो सुनकाण्ड र सुनम शाक्य हत्याकाण्डका विषयमा आफूले अनुसन्धानमा सहयोग गरेको उनले बताए । ‘सरकारले बनाएको छानविन समितिलाई मैले सहयोग गरेको छु’, उनले भने–‘त्यो समितिलाई हामीले कुनै पनि हस्तक्षेप गर्न मिल्दैन । दोषीलाई कारबाही हुन्छ ।’

आईजीपी खनालले चारवटा वाटर क्यानन् खरिद गर्ने निर्णय भएको बताए । प्रदर्शन र भीड नियन्त्रण गर्न कठिनाइ भएका कारण वाटर क्यानन् खरिद गर्न लागिएको उनले बताए । प्रहरीसँग एउटा मात्रै वाटर क्यानन् छ ।

प्रहरीभित्रका आन्तरिक कुरा बाहिर आएकोप्रति असन्तुष्ट देखिएका आईजीपी खनालले भने–‘संगठनभित्रको गोप्य कुरा कसले बाहिर लैजाने गरेको छ ? मलाई भन्नुस् जवाफ दिन तयार छु ।’ पीसीसीको बैठक संगठनको आन्तरिक विषय रहेको उल्लेख गर्दै उनले बैठक बस्न सकेको छैन भनेर कुरा गर्नु सरासर झुठ रहेको बताए । आफू आईजीपी बनेपछि चार पटकसम्म पीसीसी बैठक बसेको तर, त्यो कुरा मिडियामा आउने विषय नभएको उनले बताए ।

प्रदेश २ ले महिला मात्रै प्रहरीमा भर्ना गर्ने भनेर आएका समाचारका विषयमा सोधिएको प्रश्नको जवाफमा महानिरीक्षक खनालले ऐनअनुसार हुने बताए । ‘नेपाल सरकारले बनाउने ऐनअनुसार प्रहरी चल्छ । ऐन नआउँदासम्म कसले के भन्छ त्यसको पछाडि लाग्नु आवश्यक छैन ।’–आईजीपी खनालले थपे ।

Comments

Top