मानव बेचबिखन र साइबर अपराध हेर्न प्रहरीमा छुट्टै विभाग

igp3_1

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीमा संगठनात्मक सुधारका क्षेत्रमा काम सुरु भएको बताउँदै मानव बेचबिखन र साइबर अपराधको मुद्दा हेर्न छुट्टै विभाग गठन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार बोल्दै आईजीपी खनालले संघीय संरचनामा प्रहरीलाई लैजान संगठनात्मक सुधारको काम अगाडि बढिरहेको बताए ।

 संघीय संरचनामा जाँदा प्रहरीलाई जनशक्ति अपुग हुन सक्ने भन्दै जेठ २७ को मन्त्रिपरिषद्ले ३ हजार १ सय १ नयाँ दरबन्दी थपेको छ । आईजीपी खनालले प्रदेश कार्यालय स्थापना हुन बाँकी रहेका २ र ५ मा छिट्टै स्थापना गरिने जानकारी दिए । प्रशासनिक सुधार, भौतिक पूर्वाधार, मानव स्रोत विकास, प्रविधि र आर्थिक अनुशासनका क्षेत्रमा सुदृढीकरण गरिने योजना आईजीपी खनालले अगाडि सारेका छन् ।जसमा भदौदेखि लागू हुने फौजदारी आचारसंहिता कार्यान्वयनका लागि तयारीदेखि आर्थिक अनुशासनमा कडाइ गर्नेसम्मका सुधार योजना समेटिएका छन् ।

 सुदृढीकरण योजनामा प्रहरीका लागि जिल्ला स्तरसम्म फिटनेस सेन्टर निर्माणदेखि प्रहरी एकाइका लागि थप दरबन्दीसम्मका योजना समेटिएका छन् ।

 प्रहरी इकाइ नभएका चार नगरपालिका र २६ गाउँपालिकामा आगामी आर्थिक वर्षभित्र इलाका प्रहरीस्तरका कार्यालय स्थापना गरिने र तिनमा १ हजार ६५ प्रहरी जनशक्ति रहने आईजीपी खनालले बताए । रिक्त ती स्थानमध्ये १४ वटामा प्रहरी निरीक्षकको कमान्डमा कार्यालय रहनेछ भने १६ स्थानमा प्रहरी नायब निरीक्षकको कमान्डमा कार्यालय रहनेछ । संघीय संरचनाअनुसार प्रहरी संरचनालाई अगाडि बढाउन कानुन निर्माणदेखि अन्य काम भइरहेको आईजीपी खनालले उल्लेख गरे  ।

Comments

Top