पत्रिकाको कार्यालयमा आक्रमण गरि ५ जनाको हत्या

capital gajet

  काठमाडौं । अमेरिकामा सञ्चारमाध्यममाथि नै आक्रमण भएको छ । अमेरिकाको मेरिल्याण्डमा रहेको स्थानीय पत्रिका ‘क्यापिटल गजेट’को कार्यालयमा आक्रमण गरी पाँच जनाको हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमणमा परि केही अन्य व्यक्ति पनि घाइते भएको बताइएको छ ।

प्रहरीले उक्त कार्यालयबाट १७० जना कर्मचारीलाई सुरक्षित बाहिर निकालेको छ। मेरिल्याण्डको अन्नापोलिसमा रहेको क्यापिटल गजेट बाल्टिमोर सन मिडिया समूहसँग सम्बन्धित रहेको बताइएको छ । आक्रमणका समयमा धेरै मानिस कार्यालयभित्रै रहेकाले ठूलो मानवीय क्षति भएको समाचारमा जनाइएको छ। गोली प्रहार गरेको आशंकामा प्रहरीले एक ५० वर्यीय स्थानीयलाई हिरासतमा लिएको छ ।

प्रहरीले यो आक्रमण सुनियोजित रहेको बताएको छ । कार्यालयको सिसाबाट भित्र लक्षित गरी गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यो आक्रमणको उद्देश्य के हो भन्ने खुलाएको छैन ।

कार्यालयमा प्रवेश गर्दै उनीहरुले तल्लो तलामा रहेका मानिसहरुमाथि आक्रमण सुरु गरेको प्रहरीको भनाइ छ । यस किसिमको आक्रमणको सूचना पाएको एक मिनेटभित्र प्रहरी कार्यालयमा पुगेको थियो तर कार्यालय पुग्दासम्म पाँच जनाको ज्यान गइसकेको थियो । आक्रमणमा परी ज्यान गुमाउनेहरुमा रिपोर्टर, व्यापार सहयोगी, सम्पादक, सम्पादकीय लेखकलगायतका सञ्चारकर्मीहरु रहेको बताइएको छ ।

Comments

Top