रबि लामिछाने र किशोर श्रेष्ठ बीचको लडाईंमा प्रहरी दुरुपयोग हुने खतरा

rabikishor

 काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष र पदाधिकारीहरुलाई गाली गलौज गरेको काण्डमा आफ्ना समर्थकहरु पक्राउ परेको घटनाप्रति न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँग'का प्रस्तोता रवि लामिछानेले आपत्ति जनाएका छन् । उनले सामाजिक सन्जालमा आपत्ति जनाउँदै लेखेका छन् - साईबर क्राइम अन्तर्गतका कयौ संबेदनशीशील मुद्दा पेन्डिङमा,प्रेस काउन्सिलले बोल्न पाएको छैन, हाम्रा समर्थक चाहि एकै छिनमै पक्राउ। वाह !! साईबर क्राइमको स्पीड बढेछ ।

 काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ र अन्य पदाधिकारीलाई सामाजिक सन्जालमार्फत धम्की दिएको भन्दै इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई प्रहरीले पक्राउ गरी साईबर क्राइम अन्तर्गत कारवाही अगाडि बढाएको छ । उनीहरुले प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको प्रहरीले जनाएको छ । 

 लामिछानेले भने क्षणिक आबेशमा आएर उनीहरुले गालीगलौज गरेको भन्दै मुद्दालाई ठुलो नबनाउन प्रहरी समक्ष आग्रह गरेका छन् । लामिछानेले गाली गलौज नगरि राम्रो शब्दमा बिरोध गर्न समेत समर्थकहरुलाई आग्रह गरेका छन् । यता, प्रेस काउन्सिल नेपालसँग जोडिएर सार्वजनिक भइरहेका पछिल्ला घटनाक्रमहरुलाई नेपाल प्रेस युनियनले गम्भिरतापूर्वक नियालिरहेको जनाएको छ ।

 केही दिनयता नेपाली जनमत नै बाँडिने गरी प्रेस काउन्सिलको पक्ष र विपक्षमा आइरहेका अभिव्यक्ति र टिप्पणीहरूले गम्भीर बनाएको महासचिव अजयबाबु सिवाकोटीले जनाएका छन् । ‘शक्तिको प्रयोग गरेर कुनै व्यक्तिको पछि संस्थालाई लगाइ काउन्सिललाई विवादमा तान्नु हुँदैन भन्नेमा पनि युनियन त्यतिकै प्रष्ट छ’, महासचिव सिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहिबेला काउन्सिलको उजुरीमा देशका विभिन्न भागमा क्रियाशील पत्रकारहरू र आमनागरिकहरूलाई उनीहरूले सामाजिक सञ्जालमा लेखेका आधारमा पक्राउ गरिएका र गर्न खोजिएको घटनाले समेत हामी गम्भीर भएका छौ । '

 सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिसँग जोडिएका सबै विषयलाई विद्यतीय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले सहि बाटोतर्फ नलैंजाने प्रेस युनियनको भनाइ छ । पछिल्लो समय काउन्सिलका अध्यक्ष श्रेष्ठ र लामिछानेबीच एकले अर्कोलाई सिध्याउने लडाईं नै चलेको छ । श्रेष्ठमाथि रबि प्रकरणमा काउन्सिललाई व्यक्तिगत रुपमा प्रयोग गरेर पावरको दुरुपयोग गरेको आरोप लागेको छ । 

 श्रेष्ठमाथि सामाजिक सन्जालमा गाली र धम्कीका घटनाहरु झनै बढ्न थालेका कारण काउन्सिलको गरिमा घट्न सक्ने खतरा पनि उत्तिकै छ । काउन्सिलका अध्यक्ष श्रेष्ठले भने लामिछानेप्रती आफ्नो कुनै पुर्वाग्राह नरहेको र उनीबिरुद्द परेको उजुरीलाई कानुनसम्मत रुपमा कारवाही  अगाडि बढाउँदा आफु बिरुद्द धम्की र गालीगलौज भैरहेको बिभिन्न संचारमाध्यममार्फत उल्लेख गरेका छन्  ।   

Comments

Top