शिक्षा मन्त्रीका स्वकीय सचिव नै सात जना, मन्त्रीको ध्यान स्वकीय सचिवको भीड व्यवस्थापनमा

girijmani

 काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ ।

उहाँको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहनुभएको छ । ढकाल मन्त्रालयकै कर्मचारी हुनुहुन्छ भने केसी निजी सचिव । उहाँहरूबाहेक अन्य एक दर्जन भन्दा बढी व्यक्तीले स्वकीय सचिवको नाम लिएर काम गर्ने गरेका छन् ।

मन्त्री पोखरेलले दाङका जीवन गौतमलाई सल्लाहकारको रुपमा नियुक्त गर्नुभएको छ । तत्कालीन राज्यमन्त्री धनमाया विक बस्ने कोठमा बस्दै आउनुभएका उहाँ आफू राज्यमन्त्रीसरह भएको व्यवहार गर्नुहुन्छ । मन्त्रालयमा विभिन्न काम लिएर आएका अन्य व्यक्तीले गौतमलाई नै भेट्ने गरेका छन ।

प्रकाश खतिवडा, सुदर्शन पराजुली, विनोद पोखरेल, रोहित दाहाल र सुनिल खड्काले पनि स्वकीय सचिवका रुपमा जागीर खाइरहेका छन् । दाहाल सिभिइभीटीका कर्मचारी हुन । खड्कालाई प्रेस संयोजकको जिम्मा दिइएको छ । मन्त्रीले आफुलाई केही सहयोग आवश्यक पर्ने भएकोले केही साथीहरुलाई मन्त्रालयमा बोलाएको दावी गर्नुभएको छ ।

‘हामी त अचम्म परेका छौ, कसलाई स्वकीय सचिव मान्ने कसलाई नमान्ने, मन्त्रीको कार्यकक्षभरि स्वकीय सचिवको भीड लाग्ने गरेको छ’ –मन्त्रालयका एक कर्मचारीले  भने । मन्त्रीले सहयोगका लागि केहीलाई राखेको दाबी गरेता पनि ती कर्मचारीले अन्य निकायबाट रकम लिने गरेको स्रोतको दाबी छ ।

प्रकाश खतिवडा, सुदर्शन पराजुली, विनोद पोखरेल, रोहित दाहाल र सुनिल खड्काले पनि स्वकीय सचिवका रुपमा जागिर खाइरहेका छन् ।

स्रोतका अनुसार खारेजको संघारमा पुगेको शिक्षा विभाग, राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभीटी, इभेन्ट परियोजना लगायतका निकायबाट विभिन्न शिर्षकमा रकम लिएर स्वकीयलाई बाँड्ने गरेको कर्मचारीको भनाइ छ ।

मन्त्रीसंग हाल ६ वटा सवारी साधन रहेको उच्च तहका कर्मचारीले बताउने गरेका छन् । मन्त्रीसंग तीनवटा छन्, अन्य तीनवटा स्वकीय सचिवका नाममा विभिन्न व्यक्तीले हालिमुहालि गरिरहेका छन्–स्रोतले भन्यो ।

मन्त्री पोखरेलले पछिल्लोपटक सल्लाहकारमा नियुक्ति गरिएका गौतमलाई शिक्षक दरबन्दी वितरण कार्यदलमा विज्ञको रुपमा राख्नुभएको छ । पुर्व सचिव महाश्रम शर्मा संयोजक रहेको समितिमा गौतमलाई राख्दा मन्त्रालयका कर्मचारी अचम्मित भएका छन् ।

( नेपाल समाचारपत्र )

Comments

Top