केरुङ नाकाबाट भित्रियो सुन, गृहको समितीलाई सुन तस्करको चुनौती

suntas

 काठमाडौं । ६ किलो सुनसहित पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोसी–५ पोखडीका २३ वर्षीय तेन्जिङ तामाङ सुन तस्करीमा पकट–पटक संलग्न रहेको फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनी सुन तस्करीमा कम्तीमा सातपटक संलग्न रहेको देखिएको छ ।

रसुवाको केरुङ नाकामा तस्करसँग सुन बुझ्थे र विभिन्न नाका हुँदै काठमाडौं छिर्थे । तस्करहरूकै निर्देशनबमोजिम अर्को सदस्यलाई सुन जिम्मा लगाउँथे ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले केरुङको सुन काठमाडौं ल्याएबापत उनले प्रतिटिप ५० हजार रुपैयाँ ज्याला बुझ्थे । उनले भने, ‘केरुङको सुन काठमाडौं ल्याउँदा एकपटकमा ५० हजार ज्याला बुझेको खुल्यो । थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार उनले सुन तस्करीमा प्रयोग भएको बा.९५प ८१६४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल पनि तस्करीबाटै आएको ज्यालाले किनेको खुलेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उनले सो मोटरसाइकल तीन महिनाअघि काठमाडौंको सोरुमबाट खरिद गरेका थिए । (नयाँ पत्रीका )

Comments

Top