धर्मको नाममा आतंकवादी सञ्जाल फैलाउनेलाई मृत्युदण्ड

Shoko-Asahara

   काठमाडौं । जापान सरकारले पृथ्वी नै ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने धार्मिक समूहका एक नेतालाई मृत्युदण्ड दिएको छ । आज मृत्युदण्ड दिइएका धार्मिक नेता तिनै हुन्, जसले २३ वर्षअघि टोकियोको एक सब–वेमा विशालु ग्यास आक्रमण गरेका थिए ।

जापान सरकारले सोको आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् । उनी सन् १९९५ को २० मार्चमा टोकियोको एक सब–वेमा स्नायू प्रणालीमा असर पुर्‍याउने विशालु ग्यास आक्रमण गर्ने मुख्य योजनाकार पनि हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् ।

अम सिनरिक्यो एक धार्मिक सम्प्रदाय हो । यसका संस्थापक सोको आसहारा हुन् । उनले आफूलाई जिसस क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान पाएको’ दावी गर्दथे ।

सन् १९८९ मा जापान सरकारले अम सिनरिक्योलाई धार्मिक संस्थाको मान्यता दिएको थियो । अम सिनरिक्योको अर्थ ‘सर्वोच्च सत्य’ रहेको यसका अनुयायीहरु बताउँछन् ।

उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभर छरिएका थिए । तर जब आफूहरु बाहेक यो पृथ्वीमा रहेका सबै ध्वस्त हुँदैछन् भनेर गलत प्रचार र टोकियोको सब–वेमा गरिएको विशालु ग्यास आक्रमणपछि बिस्तारै यो सानो संख्यामा खुम्चिन पुगेको थियो ।

सन् १९९५ को विशालु ग्यास आक्रमणपछि अम सिनरिक्यो भूमिगत भएपछि यसले आफ्नो नाम परिवर्तन गरेर ‘एलेफ’ र ‘हिकारी नोवा’ राख्यो । अमेरिका लगायतका देशहरुले अम सिनरिक्योलाई आतंकवादी समूहको सूचिमा राखेका छन् । तर, जापानमा ‘एलेफ’ र ‘हिकारी नोवा’ दुवै समूह वैध छन् ।

Comments

Top