कांग्रेसको अबराेधका कारण संसद बैठक स्थगित

sambidhan sabha

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि संसदको आजको बैठक पनि स्थगित भएको छ । कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव शुक्रबारकै बैठकको कार्यसूचीमा राख्न माग गरेपनि सभामुख कृष्णबहादुर महराले अर्को बैठकको कार्यसूचीमा मात्रै राख्न सकिने बताएपछि कांग्रेसका संसदहरुले अवरोध गरेका हुन् । अवरोधपछि आजको बैठक स्थगित भएको जानकारी गराउँदै सभामुख महराले २५ गतेका लागि अर्को बैठक डाकेका छन् ।

शुक्रबार दोस्रो पटक लगातार बैठक अवरुद्ध भएको हो । कांग्रेस सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध पारिराखेपछि संसद बैठक असार २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेसले सदनमा शुक्रबार दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि तत्काल छलफल हुनुपर्ने माग गरेपछि सभामुख महराले संसद बैठक आधा घण्टाका लागि पहिलोपटक स्थगित गराएका थिए । पछि पनि अवरोध भएपछि उनले बैठक नै स्थगित गरेका हुन् ।

कांग्रेसका सांसदहरु दिलेन्द्र बडु, अजहर कमल मुसलमान र पार्वता बिसी चौधरीले शुक्रबार नै आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा तथा चिकित्सा शिक्षा विधेयक माथि तत्काल कार्यसूचीमा राखेर छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।

संसदको बैठक सुरु भए लगत्तै समय माग गरेर बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसको प्रस्तावमा छलफल नभएसम्म सदनको बैठक चल्न नदिने बताएपछि सभामुखले बैठक स्थगित गरेका थिए।

Comments

Top