भारतका कारण नेपाल डुबानमा

dub an

  काठमाडौं । छिमेकी राष्ट्र भारतका कारण नेपाली भूभागहरु डुबानमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल तथा भारतको सीमा क्षेत्रका विभिन्न गाउँहरु डुबानमा पर्नुमा भारत दोषी देखिएको हो ।
नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले हालै मात्र ७ स्थानमा गरेको स्थलगत अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययन अनुसार कतै भारतीय पक्षले अवैज्ञानिक तटबन्ध बनाएको त कतै तटबन्ध नबनाएका कारण नेपाली भूमि डुबेको पाइएको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदिप थापाका अनुसार दुई देशका संयुक्त समितिले पूर्वका ७ स्थानको अध्ययन सकाएको छ । ७ वटै स्थानमा भारतीय पक्षको कमजोरी देखिएको छ । साथै विभिन्न स्थानमा देखिएको समस्या समाधान गर्न भारतीय पक्ष राजी भएको थापाले बताए ।

सप्तरीको खाँडो नदीमा भारतीय पक्षले तटबन्ध नबनाएका कारण नेपाली भूमि डुवानमा परेको छ । त्यस्तै सिराहाको मैनावत्ती र गगन नदीको पानी जमेका कारण नेपालको लगनगोठ डुबानमा पर्ने गरेको छ । खुरौना पुल भत्केको र कल्भर्ट सानो बनेका कारण पानी बगेर जान पाएको छैन, जसका कारण डुबानमा पर्ने गरेको छ ।

त्यसैगरी कमला ब्यारेजमा नेपाल तिरको सबै तटबन्ध निर्माण भएको तर, भारतीयले भने तटबन्ध निर्माण नगरेको देखिएको छ । पानी बगेर जाने स्थानमा ग्रेभयार्ड रहेको र बालुवा जमेको छ, जसले पानी बग्न दिएको छैन । जसका कारण नेपालतर्फ तिलाची गाउँ डुबानमा पर्ने गरेको छ ।

त्यसैगरी महोत्तरीको रातु नदीमा भारतीय पक्षले बनाएको तटबन्ध अवैज्ञानिक भएको पाइएको छ । सर्लाहीको बकरी बारामा भारतको मुडाहा नदीको पानी नेपालतर्फ आउने गरेको छ ।

यता रौतहटको लालबकैयामा नेपालतर्फ तटबन्ध निर्माण भएको छ तर, भारतीय पक्षले तटबन्ध निर्माण नगर्दा गुहावटी गाउँ पुरै डुबानमा पर्ने गरेको छ । यही ठाउँमा बन्जरा गाउँ बचाउन भन्दै भारतले अवैज्ञानिक तटबन्ध बनाएको छ, जसले नेपालतर्फका भूभागमा पानी जम्मा हुने गरेको पाइएको छ । बागमती नदीमा पनि भारतीय पक्षले तटबन्ध नबनाउँदा रिङबन हरेक वर्ष जसो डुबानमा पर्ने गरेको छ ।

Comments

Top