प्रधानमन्त्रीलाई भेट्ने बहानामा उपकुलपतिलाई किन फर्काइयो ? : नेपाली कांग्रेस

badri pandey

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा विमानस्थलबाट नियन्त्रणमा लिइएकोबारे राष्ट्रिय सभामा सरकारको जवाफ माग गरेको छ।

राष्ट्रियसभाको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा नियन्त्रणमा लिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए। पाण्डेले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए।

‘नेपालले सन् २०२४ मा सम्मेलन आयोजना गर्ने तयारीमामा जानुपर्ने महत्वपूर्ण काममा बाधा पुगेको छ’, पाण्डेले भने। उनले एयरपोर्टमा प्रक्रिया पुरा गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिएको तर उपकुलपतिलाई हठात् प्रहरीले धरपकड गरेर ल्याइएको भन्दै विरोध गरे।

‘साढे पाँच बजे उहाँलाई एयरपोर्टबाट बालुवाटार ल्याइयो र साढे ७ बजे मात्र मुक्त गरियो’, पाण्डेले भने–‘प्रधानमन्त्रीले भेट्न खोज्नुभएको भनियो। तर समय नभएको भनेर अर्को दिन भेट्न भनियो। ८ बजे प्लेन उड्दै थियो। यो निरंकुश घटना भयो।’

उपकुलपति कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे ।

उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो ।

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८ औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९ औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।

Comments

Top