ठगी गर्ने कम्पनीहरु अब सरकारको निगरानीमा, साउनदेखि मजदुरहरुको तलब १६ हजार

talab

  काठमाडौं । मजदुरहरुको न्यूनतम तलव वृद्धी गरिने भएको छ । रोजगारदाता संस्थाहरु र ट्रेड युनियन संस्थाहरुको संयुक्त वैठकले श्रमिकहरुको न्यूनतम तलवमान बृद्धी गर्ने निर्णय गरेको हो । यो निर्णयसँग अब मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० हुने भएको छ। यसअघि मजदुरको न्यूनतम तलब ९ हजार ७ सय रहेको थियो। करिब एक महिनाको छलफलपछि मजदुरको न्यूनतम तलब तोकिएको हो। सोमबार बिहानैदेखि उद्योगी, ट्रेड युनियन प्रतिनिधि र सरकारी पक्ष सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठकले पारिश्रमिकको टुंगो लगाएको हो। यो पारिश्रमिक साउन १ गतेदेखि लागू हुनेछ।

जेटियुसीसीमा आवद्ध ट्रेड युनियन संस्थाहरु र रोजगारदाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श र नेपाल साना उद्योग तथा घरेलु महासंघका प्रतिनिधीहरुबीच भएको सहमति पछि नयाँ न्यूनतम तलवमान तोकिएको वैठकमा सहभागि एक ट्रेड युनियनका नेताले जनाएका छन्।

नयाँ सहमति अनुसार तलवमानमा ३८ दशमलव ६६ प्रतिशत अर्थात ३ हजार ७ सय ५० वृद्धी भएको छ।

यसअघी श्रमिकको तलवमानमा ६ हजार २ सय ५ आधारभुत तलवमान थियो भने महंगी भत्ता ३ हजार ४ सय ९५ थियो। नयाँ बृद्धी भएको तलवमानमा ८ हजार ४ सय ५५ आधारभुत तलवमान तोकिएको छ भने ४ हजार ९ सय ९५ महंगी भत्ता तोकिएको छ।

नयाँ न्यूनतम तलवमान सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी रहेको छ। यो नयाँ तलवमान अहिलेसम्मकै गरिएको उच्च वृद्धी हो। नेपालका ट्रेड युनियन संस्थाहरुले न्यूनतम तलवमान वृद्धी गर्नुपर्ने माग लामोसमयदेखि गर्दै आएका थिए।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ । यि सबै व्यवस्था लागू भएमा मजदुरहरु ठगिनबाट बच्ने देखिन्छ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १६ हजार पुग्नेछ । यदि यो लागु हुन सकेको खण्डमा धेरै तवल देखाएर मजदुरलाई कम दिंदै आएका कम्पनीहरुले अब ठग्न पाउने छैनन् । त्यस्ता कम्पनीहरुमाथि सरकारले निगरानी बढाउने समेत जनाएको छ ।

Comments

Top