कानुन उल्लंघन गरी विदेश जान लाग्दा उपकुलपति कोइरालालाई रोकियो : शिक्षा मन्त्रालय

koirala patra

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रचलित कानुनबमोजिम अनुमति नलिएका कारण उनलाई विदेश भ्रमण गर्न रोकिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले विज्ञप्तिमार्फत देशमा प्रचलित कानुन उल्लंघन गरी विदेश जान लागेकाले कोइरालालाई रोकिएको बताएका हुन्। प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व मन्त्रालयबाट अनुमति लिनुपर्नेमा उनले नलिएको विज्ञप्तिमा उल्लेख छ।

‘सार्वजनिक पद धारण गरेका व्यक्तिले विदेश भ्रमण गर्दा सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानुबमोजिम सम्बन्धित तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान भए पनि कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिका हैसियतले कुलपति वा सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनुभएको छैन’–विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा कोइरालाले भिसा सिफारिसका लागि सम्बन्धित विश्वविद्यालयबाट मन्त्रालयलाई कुनै पनि अनुरोध नआएको र मन्त्रालयले पनि कुनै सिफारिस नगरेको जनाइएको छ। क्यानाडामा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन जान लागेका उनलाई गत शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो।

यता,कोइरालाले भने आइतबार नै सम्बन्धित निकायमा जानकारी गराएरै विदेश जान लाग्दा अपराधीलाई जस्तो छापामार शैलीमा अपहरण गरेको भन्दै आक्रोश पोखेका छन् । ‘यस अघि विदेश जाँदा जुन प्रक्रिया अपनाइएको थियो, अहिले पनि त्यहि प्रक्रिया अपनाइएको हो । प्रधानमन्त्रीको ठाडो आदेशमा अपहरण शैलीमा उठाइयो । यसले मेरो मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा देशकै बेइज्जत भएको छ ।’–प्रा.डा. कोइरालाले भनेका छन् ।

Comments

Top