प्रशासनबाट म्याद थपेर गुण्डा छाड्ने एसएसपीको नयाँ कानुन, गृहमन्त्री र आईजीपीको अभियानलाई ठाडो चुनौती

satyamanssp

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीवार बिहान बालुवाटारबाट काभ्रेका गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरे लगत्तै संचार माध्यममा प्रहरीले सुचना दिंदै भन्यो- नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको सहयोगीका रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको हुँदा पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । 

 परिसरका प्रमुख एसएसपी बिश्वराज पोखरेल र मुद्दाका डिएसपी मोहन थापाले अबैध डलरको कारोबार, गुण्डागर्दी र चेक लुटपाट गरेको उजुरीको आधारमा लामालाई पक्राउ गरेको जानकारी गराएका थिए । ई लामा पक्राउबारे प्रहरीले दिएको विवरणले काठमाडौं परिसरले ठूलै माछा जालमा पारेको भान अनलाईन सञ्चारमाध्यमका पाठकलाई हुन पुग्यो ।

परिसरले लामा बिरुद्ध थप अनुसन्धानका लागि  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थुनामा राख्ने म्याद लियो। तर, प्रहरीले सत्यमानलाई एक रात पनि हिरासतमा राख्न भने सकेन । सत्तारुढ दलका सांसद नबिना लामाको दबाबमा बिहान ११ बजे पक्राउ परेका लामा बेलुका ५ बजे रिहा भए ।

 बिहान अनेक आरोप लगाउँदै पक्राउ परेका लामा बेलुका एसएसपी पोखरेलकै मुखबाट कुनै आरोप र प्रमाण नभएको भन्दै रिहा गरियो । पोखरेलले थुनामा राख्ने प्रमाण नपुगेपछि हाजिरी जमानीमा सत्यमानलाई छाडेको वताए । तर, जिल्ला प्रशासन कार्यालयले कुन प्रमाणको आधारमा लामालाई थुनामा राख्न अनुमती दियो? । सामान्य मुद्दाका आरोपित र उजुरी नपरेका गुण्डालाई पनि २४ दिन सम्म थुनेर प्रहरीले मुद्दा चलाउँदै आएको छ । म्याद थपेर गुण्डा छाड्ने एसएसपी पोखरेलले नयाँ अभ्यासको थालनी गरेका छन् ।

 तर, एसएसपी पोखरेलले लामालाई छाडिएको बिषयमा जिज्ञासा राख्ने सञ्चारकर्मीलाई आफैले बनाएको कानुनी तर्क दिएर थुना बाहिर राखेर पनि मुद्दा चलाउन सक्ने बताएका छन् । सत्यमानबिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको थियो ।

 गुण्डा पक्राउ गर्ने, त्यसपछि मिडियामा सुचना दिएर ठुलो हल्लिखल्ली गराउने र बेलुका सुटुक्क छाड्ने एसएसपी पोखरेलको कार्यशैली यो घटनापछि उदाङगिएको छ। काम देखाउने नाममा एसएसपी बिश्वराज पोखरेल  सस्तो प्रचारमा उत्रिएको टिप्पणी समेत भएको छ । गृहमन्त्री राम बहादुर थापा बादल र आईजीपी सर्वेन्द्र खनालले गुण्डागर्दी निर्मुल बनाउन अभियान नै चलाउने बताइरहेको बेला पक्राउ गरी प्रशासनबाट म्याद थपिएका गुण्डालाई छाड्ने एसएसपी पोखरेलको नयाँ अभ्यासले अब कति गुण्डा कारवाहीमा पर्छन र कतिले उन्मुक्ती पाउंछन? चासोको बिषय बनेको छ ।

Comments

Top