विश्वकप फुटबलकाे फाइनल अाज, दोहोर्याउने दाउमा फ्रान्स, २० वर्ष अघिको बदला लिन खाेज्दै क्रोएसिया

france vs croatia

   काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आज फ्रान्स र क्रोएसिया भिड्दैछन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले कोहि समूह चरणबाट त कोहि अन्तिम १६ बाट बाहिरिएसँगै यो वर्षको वल्र्डकप झन रोचक बनेको छ । फाइनल पुगेका दुवै फ्रान्स र क्रोएसिया भने अपराजित छन् ।

करिब एक महिनाको अवधि र ६३ खेलपछि अन्ततः विश्वले नयाँ च्याम्पियनका लागि गरेको प्रतीक्षा आइतबार साँझ सकिनेछ । मस्कोस्थित लुझनिकी रंगशालमा आमने–सामने हुँदा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानप्रेरित फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छ भने कप्तान लुका मोडरिचप्रेरित क्रोएसिया पहिलो पटक विश्वविजेता बन्ने लक्ष्यमा हुनेछ। रूसमा ४ साताअघि प्रतियोगिता सुरु हुँदा थोरै मानिसले मात्र यी दुई टोलीबीच फाइनल भिडन्त हुने अनुमान गरेका थिए।

फ्रान्सले फाइनलसम्म यात्रा तय गर्दा समूह ‘सी’ बाट तीन खेलमा २ जित र १ बराबरी खेलेको थियो । यसपालि विश्वकपमा भित्र्याइएको भिडियो असिस्टेन्ट रेफ्री (भार) को पहिलो फाइदा पनि फ्रान्सले नै पाएको थियो । समूहको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध रेफ्रीले भारको प्रयोग गरेर प्रारम्भिक निर्णय उल्टाउँदै फ्रान्सलाई पेनाल्टी दिएका थिए । समूहको शीर्षस्थानमा रहेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले हराएको थियो ।

आइसल्यान्डले बराबरीमा रोकेको अर्जेन्टिनालाई क्रोएसियाले ३–० ले हराउँदै कठिन परिस्थितिमा उभ्यायो । नाइजेरियालाई अन्तिम खेलमा २–१ ले हराउँदै समूह चरण पार गरे पनि अर्जेन्टिना फ्रान्ससमक्ष निरीह बन्यो । फ्रान्सले क्वाटरफाइनलमा उरुग्वेलाई २–० र सेमिफाइनलमा फ्रान्सलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

क्रोएसियाले भने समूह ‘डी’ मा रहँदै तीनै खेल जित्दै नकआउट चरण पक्का गरेको थियो । त्यसपछि लगातार तीन नकआउट खेल अतिरिक्त समय खेल्दै पार गर्ने क्रममा क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छायो । सेमिफाइनलमा भने क्रोएसियाले इंग्ल्यान्डमाथि २–१ को जित दर्ता गर्‍यो ।

यस्तो छ फ्रान्स र क्रोएसियाबीचको इतिहास
यसअघि सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो पटक विश्वकप खेलेको क्रोएसियाले प्रतियोगितामा सनसनी मच्चाएको थियो। स्वतन्त्र राष्ट्र भएको ७ वर्षमै सेमिफाइनलको यात्रा तय गर्दा क्रोएसियाको खुसीको सीमा थिएन।

अर्कोतर्फ आयोजक फ्रान्सले सेमिफाइनलमा पुगेपछि घरेलु भूमीमै विश्वकपको ट्रफी पहिलो पटक उचाल्ने सपना देखिसकेको थियो। क्रोएसियाले क्वार्टरफाइनलमा जर्मनीलाई ३–० गोलले पराजित गरेको थियो।

१९९८ मा आयोजक फ्रान्स जिनेदिन जिदान र थियरी हेनरी जस्ता खेलाडीका कारण उच्च मनोबलमा थियो। हालका प्रशिक्षक डिडियर डेस्चाम्स तत्कालन फ्रेन्च टिमका कप्तान थिए। सेन्ट डेनिसमा स्थानिय समयअनुसार साँझ ७ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको सुरुवातदेखि नै दुवै टिम आक्रामक रुपमा उत्रिएका थिए। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा क्रोएसियाका डाभोर सुकरले गोल गर्दा घरेलु समर्थक स्तब्ध बनेका थिए।

तर क्रोएसियाले अग्रता एक मिनेट पनि टिकाउन सकेन। डिफेन्डर लिलियन थुरामले ४७ मिनेटमा पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरेका थिए। जुन उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। ७० मिनेटमा थुरामले अर्को गोल गरे। सो गोल निर्णायक बन्दा फ्रान्सले फाइनलमा स्थान पक्का गरेको थियो भने क्रोएसियाको पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउने सपना चकनाचुर भएको थियो। २० वर्षअघि फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेको थियो।

आइतबार राति फ्रान्स २० वर्षअघिको इतिहास दोहोर्यादउँदै दोस्रो पटक उपाधि जित्ने अभियानमा हुनेछ। क्रोएसिया पनि २० वर्षअघि सेमिफाइनलमा भोगेको हारको बदला लिँदे नयाँ च्याम्पियन बन्ने लक्ष्यमा छ।

Comments

Top