पोखरामा हुण्डी कारोबारीको विगविगी, इन्टरनेटमार्फत ठगी

hundir

 पोखरा । क्यानडामा आकर्षक तलव सुविधा सहित रोजगारीको ग्यारेन्टी हुने इन्टरनेटको विज्ञापन हेरेर पोखरा महानगर पालिका १६ बाटुलेचौर आसपासका पाँच जना युवा भारतीय दलालको चंगुलमा फसेर करिव ३ हप्ता पछि ज्यान जोगाइ घर फर्किएका छन् । भारतीय दलालले इन्टरनेटको सूचना विज्ञापन मार्फत सम्पर्क भएका युवाहरुलाई दिल्लीमा बोलाएको थियो । सुरुमा पैसा दिनु नपर्ने भन्दै दलालले आश्वासन दिएको थियो । स्काइप र म्यासेन्जर लगाएका इन्टरनेट कलमा दोहोरो सम्वाद पनि भएको पिडित युवाका अभिभावकले बताए ।

 क्यानडा पुगेर काममा लागेपछि मात्र पैसा दिए हुने भन्दै दलालले आश्वस्त पारेपछि युवा र तिनका अभिभावक ढुक्क भएर दिल्ली गएका थिए । भारतको राजधानी दिल्लीमा मानव तस्करी गर्ने दलालको झुण्डले नेपालबाट गएका युवालाई त्यहाँको होटलबाट कालो सिसा भएको कारमा हालेर हरियाणातर्फ लग्यो । हिड्ने बेलामा कोक खान दिएको र त्यसपछि अधेरो बन्द कोठरीमा पुगेपछि मात्र थाहा पाएको उनीहरुले बताए । बन्द कोठामा पुगेपछि बल्ल उनीहरुले आफू ठगिएको चाल पाए । कोठरीमा थुनिएका युवाहरुलाई सुरुमा चक्कु देखाएर चरम शारीरिक यातना दिइयो । यातना दिएपछि जर्वजस्ती फ्रेस हुन लगाउने अनि आफूहरु क्यानडा आइपुगेको र काममा लागेको बताउँदै पैसा पठाइदिन घर परिवारमा फोन गर्न लगाउने गरेका थिए ।

 दलालले हासी–हासी फोन गर्न भन्थे । उनीहरु ज्यान बचाउन पनि नक्कली हाँसो हाँसेर परिवारलाई फोन गरेर पैसा हाल्दिन भन्थे । दलालकै नम्वरबाट आएको फोनमा क्यानडा आउने गरेको एक पीडितका अभिभावले बताए । छोराहरु आफै बोलेर आफूहरु क्यानडा पुगेर काममा लागेको बताएपछि प्रतिव्यक्ति १६ लाख रुपैयाँ नेपाली पठाइदिएका थिए । दलालको निर्देशन बमोजिम उक्त रकम हुण्डी मार्फत पठाइएको अभिभावकले बताए । दलालले रकम पाए पनि पिडित युवाहरुलाई कव्जामै राखेर थप यातना दिइएको बताइएको छ ।

 पोखराबाट थप युवाहरु त्यसतर्फ जाने तयारीमा रहेका कारण पनि ठगी धन्दा पर्दाफास हुने डरले पैसा पाएपनि नियन्त्रणमै राखिएको बताइएको छ । आफूहरु दलालको गिरोहमा फसिएको निश्चित भएपछि पैसा फसे पनि ज्यान जोगाउन दुई युवा राती नै भागेपछि अरु थप ३ युवा पनि भागेर घर फर्केका छन् । उनीहरु सेन्डो भेष्ट र कट्टु मात्र लगाएर मथुरा हुँदै दिल्ली आएको बताएका छन् । दिल्ली आएपछि दिल्ली पोखरा बस सेवा संचालन गर्दै आएका नेपालीहरुले उनीहरुलाई कपडा, खान पान र टिकटको व्यवस्था गरिदिएका थिए । साथमा लगेको कागज पत्र, कपडा सहितको लगेज व्याग समेत दलालले गायव पारिदिएका छन् । क्यानडा जाने सपना बोकेर गएका युवाहरुले डेढ दुई लाख रुपैयाँको सपिङ समेत गरेको उनीहरुका अभिभावकले बताएका छन् ।

 नेपाली युवाहरु छिमेकी राष्ट्रको राजधानी शहर दिल्ली मै ठगिएका छन् । चरम शारीरिक यातना पाएका छन् । ज्यान वचाएर फर्किएकाहरु मानसिक तनावमा छन् । अव अपराधी दलाललाई खोजेर न्यायिक कठघरामा उभ्याउनु पर्छ । यसमा पहिलो दायित्व पीडितले निभाउनु पर्छ । नेपाल प्रहरीले इन्टरपोल मार्फत ति ठग गिरोहलाई पक्राउ गर्न सक्छ । दिल्ली प्रहरीले ठगि गिरोहको पर्दा च्यात्न सक्छ । यदि यस्ता गिरोहलाई उन्मुक्ती दिने हो भने अझै संयौ नेपाली युवाहरु ठगिन सक्छन् । त्यसैले राज्यले त्यस तर्फ सजकता अपनाउन जरुरी छ ।

 यो ठगि प्रकरणमा हुण्डी कारोवारीको पनि सेटिङ मिलेको छ । ठग दलालले हुण्डी मार्फत मात्र पैसा पठाउन भनेकोले पनि दलाल र हुण्डी कारोवारीको संलग्नतालाई संकेत गरेको छ । पीडितले पोखराको सिर्जनाचोकको एक व्यक्ति मार्फत रकम पठाएका थिए । १६ लाख हुण्डी गर्दा ५० हजार रुपैयाँ कमिशन लिएर रकम पठाइएको पिडित अभिभावकले बताए । ति पाँचै जनाले १६ लाखका दरले हुण्डीमार्फत रकम पठाएको पनि खुल्न आएको छ । हुण्डी कारोवारलाई अवैध मानिन्छ । हुण्डी कारोवारी कै कारण अपहरण, फिरौती, हप्ता असुली, सुन तस्करी, लागू औषधी ओसार पसार जस्ता गंभिर प्रकृतिका अपराध हुँदै आएका छन् यसलाई रोक्न प्रहरीले गोप्य अनुसन्धान गर्नु जरुरी छ ।

 कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले हुण्डी कारोवार चुनौतीको विषय रहेको स्वीकार गरे । उनले यसलाई गोप्य अनुसन्धान गरि कानूनी दायरामा ल्याउने पनि बताए । पोखराको वजारमा हुण्डी कारोवार खुल्लम खुल्ला भइरहँदा पनि प्रहरीले पक्राउ गर्न नसक्दा राज्यले लाखौं राजस्व गुमाइरहेको छ भने हुण्डी मार्फत वैदेशिक रोजगारीमा ठगि वढेको छ । हुण्डी कारोवार रोक्न सके पनि वैदेशिक रोजगारको ठगि धन्दा न्यूनिकरण हुन सक्छ यस तर्फ कास्की प्रहरीले सकृय छानविन गर्नु जरुरी छ ।

Comments

Top