अन्तिम दिन साढे ३३ अर्ब खर्चेर हुन्छ विकास ?

artha mantralaya

  काठमाडौं । पैसा पचाउनकै लागि आर्थिक वर्षको अन्त्यमा हुने÷गरेका कामले जनता समेत समस्यामा छन् । र, पनि सरकारको गैरजिम्मेवारीपनका कारण आर्थिक वर्षको अन्त्यमा काम गर्ने परिपाटी अझै रोकिएको छैन । सरकारले गत आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गते एकै दिनमा ३३ अर्ब ५५ करोड रुपैयाँ निकासा गरेपछि बजेट कसरी सकिन्छ भन्ने प्रष्ट देखिएको छ ।

उक्त रकममध्ये चालूतर्फ ५ अर्ब ८३ करोड र पूँजी गततर्फ २७ अर्ब ६२ करोड र वित्तीय व्यवस्थातर्फ ९४ करोड निकासा भएको हो । सोहि दिन मात्रै १६ अर्ब ४६ करोड राजस्व उठेको छ ।

त्यसैगरी असार ३० गते ४ अर्ब ९० करोड, २९ गते ८ अर्ब ९८ करोड, २८ गते ११ अर्ब ८९ करोड खर्च भएको महालेखा कार्यालयको तथ्यांक छ । सरकारले आर्थिक अनुशासन कायम राख्न असार २५ गतेपछि अत्यावश्यक प्राविधिक शीर्षकबाहेक अन्यमा खर्च नगर्ने जनाएको थियो ।

पछिल्लो समयमा बजेट बढी खर्च गर्ने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि मन्त्रालयमा सिँचाइ, शहरी विकास, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाइ मन्त्रालय रहेका छन् ।
यसका साथै रक्षा, गृह, स्वास्थ्य, शिक्षा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पनि पछिल्लो समय बढी खर्च गर्ने मन्त्रालयको सूचीमा सूचीकृत भएका छन् ।
गत आवको अन्तिम ८ दिनमा आर्थिक सुशासनका खिल्ली उडाउँदै सरकारले १ खर्ब ५ अर्ब ९३ करोड रुपैयाँ बजेट खर्च गरेको छ । गत आवमा १० खर्ब ७३ अर्ब २ करोड रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्षको अन्त्यमा यसरी मनपरी रकम खर्च गर्दा आर्थिक अराजकता बढ्दै गएकोप्रति सरकार जानकार भएपनि किन मौन छ ? प्रश्न सोचनिय छ । जस्तै रकम असुली गर्नकै लागि असारमा गरिने सडक विस्तार र पीज एक महिना पनि नटिक्ने यस अघि भए÷गरेका कामले पुष्टि गरिसकेका छन् । तरपनि ओली नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्री बनेका पूर्व गभर्नर डा. युवराज खतिवडाले पनि प्रशंसा योग्य काम गर्न सकेको देखिएन । यसरी अन्तिम समयमा हुने कामको गुणस्तर कम हुने भएकाले खर्च जतिसुकै भएपनि त्यसले राम्रो नगर्ने देखिन्छ ।

Comments

Top