मन्त्रीलाई बाँध्ने आचारसंहिता खै ?

kanun

 काठमाडौं,साउन ९स् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरुका लागि आचारसंहिता लागू नगर्दा अभिव्यक्ति विवादमा पर्ने गरेको छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरुले बोल्ने अभिव्यक्तिकै कारण विवादमा पर्ने मात्र होइन पदबाट राजीनामा दिने अवस्थासमेत सिर्जना भएको छ ।

मन्त्रीहरुका लागि आचारसंहिता बनाउने विषयमा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि बहस चल्दै आए पनि आचारसंहिता भने बन्न सकेको छैन ।

आचारसंहिता अभावमा मन्त्रीहरुले कस्तो कार्यक्रममा जाने, कार्यक्रममा के अभिव्यक्ति दिने भन्ने ज्ञानविना नै जथाभावी हिँड्ने बोल्ने गरेका छन् । विभागीय मन्त्रालयभन्दा पनि सस्तो लोकप्रियताका लागि सभा समारोह, कार्यक्रम उद्घाटन गर्दै हिँड्ने होड मन्त्रीहरुमा चलेको छ ।

नीति निर्माण गर्नुपर्ने मन्त्रीहरु दैनिक रुपमा रिबन काट्नमा नै धेरै समय बिताउने गरेका छन् । मन्त्री हुने कार्यक्रमको मापदण्ड आचारसंहिताले तय गर्ने भए पनि मन्त्रिपरिषदको कार्यालयले अहिलेसम्म उक्त आचारसंहिता बनाउनुपर्ने खाँचो महसुस गरेको छैन ।केही दिनअघि एक कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राको बारेमा टिप्पणी गरेका कारण कानुनमन्त्री शेरबहादुर तामाङले नैतिकताको कारण देखाउँदै मंगलबार राजीनामा दिनुभएको छ । हरेक सरकारका मन्त्री बोलीकै कारण विवादमा तानिने गरेका छन् । कतिले नैतिकताको आधारमा राजीनामा दिएका छन् भने कतिले आन्दोलनको दबाब थेक्न नसक्दा मात्र राजीनामा दिन बाध्य भएका छन् । पदीय जिम्मेवारी लिएर राजीनामा दिने मन्त्रीको संख्या भने निकै न्यून रहेको छ ।

पदभन्दा पनि नैतिकतता ठूलो ठान्नेले मात्र राजीनामा दिएर आफूलाई जवाफदेही बनाएका छन् । विकसित देशमा ठूला घटना घट्नासाथ त्यसको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने प्रचलन रहेको छ । तर नेपालमा भने नैतिकताको आधारमा राजीनामा दिनेभन्दा पनि कुर्सी मोहकै कारण आन्दोलनको दबाबमा मात्र राजीनामा दिने प्रचलन रहेको छ ।

नेपाली काँग्रेसका तत्कालीन नेता विशेश्वरप्रसाद कोइरालाले २००७ सालपछि मोहनशमशेर राणाको प्रधानमन्त्रीत्वमा बनेको सरकारका गृहमन्त्री रहँदा विद्यार्थी नेता चिनियाँकाजी श्रेष्ठको मृत्यु भएपछि नैतिकताका कारण राजीनामा दिनुभएको थियो । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षसमेत रहेका पूर्वशिक्षामन्त्री केशरबहादुर विष्टले पनि २०४५ सालमा हावाहुरीका कारण दशरथ रंगशालामा ७१ जना नागरिकको ज्यान गएपछि नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो ।

उहाँले देशमा शासन व्यवस्था परिवर्तन भए पनि नैतिक मूल्य मान्यतामा भने खडेरी लाग्दै गएको टिप्पणी गनुभयो । ‘अहिले राजनेताले चलाएको राजनीति छैन, लुटनीति, भ्रष्टाचार नीति झुट नीति मात्र चलेको छ, नराम्रो मात्रैको नाम मात्र राजनीति होइन’, विष्टले भन्नुभयो– ‘नैतिकता नै बेच्नेले देशलाई बर्बाद बनाउँछन्, देश सुध्रिनका लागि नैतिकता पहिलो सर्त हो ।’(नेपाल समाचारपत्र)।

Comments

Top