भारतीय फिल्ड अफिस साउन १६ देखि बन्द गर्ने घोषणा

bharatiya

 मोरङ ।भारतले विराटनगरस्थित फिल्ड अफिस १६ साउनदेखि बन्द गर्ने घोषणा गरेको छ । फिल्ड अफिस हटाउन तयार रहेको औपचारिक घोषणा ७ जेठमै गरेको भारतले ढिला गरी बन्द गर्न लागेको हो । मंगलबार भारतीय दूतावासले सूचना जारी गरी फिल्ड अफिसबाट हुँदै आएका सम्पूर्ण कामकाज १६ साउनदेखि काठमाडौंस्थित दूतावासबाटै सञ्चालन गर्ने जनाएको छ ।

 ‘मोटर–गाडीहरूको अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, दस्तावेजको प्रमाणीकरण अब काठमाडौंस्थित दूतावासबाट हुनेछ,’ दूतावासका प्रवक्ता रोशन लेप्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । २८ वैशाखमा आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतले विरानगरको फिल्ड अफिसको औचित्य सकिएको भन्दै हटाउने प्रतिबद्धता जनाएको थियो । त्यसअघि २३ चैत ०७४ मा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री केपी ओलीले समकक्षी मोदीसँग ‘वान टु वान’ वार्तामा विराटनगर फिल्ड अफिस हटाउनुपर्ने कुरा उठाएका थिए ।

 २६ जेठमा प्रधानमन्त्री केपी ओलीले १ नम्बर प्रदेश सभालाई सम्बोधन गर्दै भारतीय फिल्ड अफिस हट्ने घोषणा नै गरेका थिए । तर, लामो समयसम्म नहट्दा घोषणा कार्यान्वयन नभएको भन्दै आलोचना सुरु भएको थियो । विराटनगर महानगरपालिका–१२ स्थित थापा निवास टोलमा १० वर्षदेखि सञ्चालनमा छ ।

यसरी स्थापना भएको थियो फिल्ड अफिस
२ भदौ ०६५ मा आएको कोसीको बाढीले समस्या निम्त्याएपछि व्यापारिक समस्या सहजीकरण गर्न फिल्ड अफिस स्थापना भएको थियो । पूर्वका उद्योगी व्यापारीकै आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो ।

 सुरुमा विराटनगरको वरगाछीमा स्थापना गरिएको कार्यालय सहमतिअनुसार सन् २०१० मै हट्नुपर्ने थियो । तर, तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय दूतावासलाई २०११ मा पत्र नै लेखेर कार्यालय हटाउन भने पनि भारतले अटेर गर्दै झन् वरगाछीबाट सुविधासम्पन्न ठाउँमा सारेर कार्यालय सञ्चालन गर्दै आएको छ

Comments

Top