१३ वटा ट्राभल तथा ट्रेकिङ कम्पनी, ४ अस्पताल र ३ हेलिकप्टर कम्पनीलाई कारबाहीको लागि सिफारिस

fistel air

  काठमाडौं । उद्धारको नाममा अनावश्यक रकम असुली गर्ने हेलिकप्टर, अस्पताल र व्यवसायीलाई एक छानविन समितिले सरकारसमक्ष कारबाहीको लागि सिफारिस गरेको छ । नेपालमा आएका पर्यटकलाई उद्धारको नाममा रकम असुली गरेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको बद्नाम भएपछि सरकारले गठन गरेको छानविन समितिले त्यस्तो कार्यमा संलग्न कम्पनी, व्यवसायीलाई कारबाही गर्न सफिरिस गरेको जनाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित उक्त समितिले सात सय पृष्ठ लामो प्रतिवेदनमा त्यस्ता कम्पनीलाई कारबाही गर्न सिफारिस गरेको छ।

समितिले १३ वटा ट्राभल तथा ट्रेकिङ कम्पनी, ४ अस्पताल र ३ हेलिकप्टर कम्पनी कारबाहीको लागि सिफारिस गरिएको जनाइएको छ ।

केही समय अघि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा पदयात्रा तथा पर्वतारोहणमा गएका विदेशीलाई नेपालमा विरामी बनाएर उद्धार तथा विमाको नाममा डलर असुल गर्ने जस्ता समाचारहरु आएका थिए ।

त्यसलगत्तै सरकारमा परेको उजुरीको आधारमा मन्त्रालयले छानविन गर्न गठित समितिले ८ वटा ट्राभल तथा ट्रेकिङ कम्पनी ४ अस्पताल र ३ हेलिकप्टर कम्पनीको कारोबार आम्दानी तथा स्रोतको अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई पत्र पठाउन सिफारिस गरेको छ।

त्यस्तै महंगो शुल्क लिएको अभियोगमा ६ वटा अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्न समितिले सुझाव दिएको छ भने ५ वटा ट्राभल कम्पनीलाई अनुमति विना डलरमा शुल्क लिएको अभियोगमा कारबाही गर्न राष्ट्र बैंकलाई पत्र पठाउन सुझाएको छ।

Comments

Top