निर्वाचनमा धाँधली भएको भन्दै गरिएको आन्दोलनमा ३ जनाको ज्यान गयो

jimbabe

   काठमाडौं । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ ।निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो ।

विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ । तर, राष्ट्रपति इमरसन मनंगाग्वाले हिंसा भड्कनुमा स्वयं विपक्षी दल जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् ।

जिम्बाब्बेमा ३७ वर्ष शासन गरेको रोबर्ट मुगाबे सत्ताच्युत भएपछि सोमबार पहिलोपटक निर्वाचन भएको थियो । निर्वाचनको परिणाममा सत्तारुढ दल जानु–पीएफ पार्टीले फराकिलो अग्रता बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर, विपक्षी गठबन्धन एमडीसीले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । जानु–पिएफका उम्मेदवार नभएर आफ्ना उम्मेवदार विजयी भएको दाबी उसको छ । विपक्षी गठबन्धनबाट नेल्सन चामिया मैदानमा छन् ।

जानु–पिएफले फराकिलो अग्रता बताइरहेको भए पनि अहिलेसम्म औपचारिक परिणाम सार्वजनिक भएको छैन ।परिणाम घोषणामा भइरहेको ढिलाइप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता व्यक्त गरेका छन् । चुनावको पर्यवेक्षण गरेको युरोपेली युनियनले राष्ट्रपति चुनावको नतिजा सार्वजनिकमा ढिलाइ नगर्न आग्रह गरेको छ । एजेन्सी

Comments

Top