सगरमाथा सिमेन्टको उत्पादन र बिक्री वितरण बन्द गर्न जिप्रकाको निर्देशन

sagarmatha

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय बर्दियाले सगरमाथा सिमेन्टलाई बिक्री वितरण बन्द गर्न निर्देशन दिएको छ । गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो ।

कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगलाई बिक्री वितरण बन्द गर्न साथै थप कारबाही समेत गर्ने जनाएको छ । उक्त सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई समेत अनुरोध गरेको छ ।

उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त ब्राण्डको सिमेन्टको उद्योग भने दाङको घोराहीमा रहेको छ । घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया नगरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको शंका गरिएको थियो ।

गुणस्तरहीन भएको आशंकामा जिल्ला प्रशासन कार्यालयले बर्दियाले परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा अनुरोध गरेको थियो । विभागले सिमेन्ट गुणस्तरहीन भएको ठहर गरेपछि उद्योगलाई कारबाही गर्न लागिएको हो ।

अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादन कार्य बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिसकेको छ ।

Comments

Top