धान्न नसकेपछि कर्मचारीहरुको ६ प्रतिशत तलव काट्दै सरकार

aartha mantralaya

   काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको ६ प्रतिशत रकम काट्ने भएको छ । पेन्सनका लागि भन्दै सरकारले मातहतका कर्मचारीको तलबबाट ६ प्रतिशत रकम काट्न लागेको अर्थमन्त्रालय स्रोतले बतायो । साउन १ गतेपछि नियुक्त हुने सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीहरुमा यो व्यवस्था लागू हुने अर्थ मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीबाट ६ प्रतिशत योगदान हुनेगरी रकम कटौती गर्ने भएको हो। साउन १ अघि नियुक्त भएका कर्मचारीको तलबबाट भने पेन्सनका लागि कुनै रकम कटौती हुने छैन। यसअघि १० प्रतिशत रकम कटौती गरी त्यति नै रकम सरकारले जम्मा गरिदिने प्रस्ताव अर्थले गरे पनि यसलाई मन्त्रिपरिषद बैठकले संशोधन गरी स्वीकृत गरेको हो।

मन्त्रिपरिषद बैठकबाट यो स्वीकृत भइसकेकाले अब छिट्टै विधेयकका रुपमा संसदमा प्रस्तुत भई संसदबाट पास भएपछि यो व्यवास्था लागू हुनेछ। यो व्यवस्था लागू भएपछि कर्मचारीबाट कटौती भएको ६ प्रतिशत रकम बराबर नै सरकारले थपेर कोष बनाउने छ। सोही कोषबाट कर्मचारीलाई पेन्सनको व्यवस्था हुनेछ। गत आर्थिक वर्षमा मात्रै पेन्सनका लागि ४० अर्ब १४ करोड रुपैयाँ खर्च भएको थियो ।

Comments

Top