बालक अपहरण र हत्या : झरीसँगै आँसुको वर्षा

hatyaa

 काठमाडौं। खहरेस्थित हाइल्यान्ड इङलिस स्कुलको कक्षा ६ मा सोमबार निसान खड्का गएनन् । उनी बस्ने बेन्च खाली थियो । रातभर झरी परेकाले निसान स्कुल नआएका होलान् भन्ने उनका साथीको अन्दाज थियो । तर अनुमान पनि गरेका थिएनन् कि साथीसँग अब कहिल्यै भेट हुँदैन भनेर ।

सिन्धुपाल्चोकको मेलम्चीबाट बसाइँ सरेर पेप्सीकोला टाउन प्लानिङमा खाना र चिया बेच्ने सानो रेस्टुराँ चलाएर दुई छोरी र कान्छो छोराको हेरचाह गरेर बसेकी थिइन्, चमेली खडका । उनको सानो रेस्टुराँमा खाना खान कुल्लीदेखि घर निर्माणमा संलग्न मजदुर र पेन्टरसम्म आउँथे । सधैं झैं आइतबार निसान घर आए । आफ्नै शैलीमा फ्यात्त झोला फाले र खाजा खाएर खेल्न निस्के । ११ वर्षीय निसान साँझ झमक्कै भइसक्दा पनि फर्किएनन् । रात ढल्किँदै जाँदा निसानको फिक्रीले चमेली छट्पटाउन थालिन् । रातको ९ बज्यो । चमेलीको मोबाइल लगातार बज्न थाल्यो । उनले मोबाइल त उठाइन् तर उताबाट बोल्नेको कुरा प्रस्ट बुझिएन । एकैछिनमा फेरि सोही नम्बरबाट फोन आयो ।

फोन गर्नेले धम्कीको स्वरमा सोझै भन्यो, ‘तपाईंको छोरा हाम्रो कब्जामा छ । ४० लाख लिएर आउनु । प्रहरीलाई खबर नगर्नु,’ सोमबार बिहान अपहरणकारीको खोजी भइरहेका बेला कान्तिपुरसँगको कुराकानीमा चमेलीले अघिल्लो साँझको घटना सुनाइन् । उनको स्वर रुँदारुँदै थाकेर भास्सिएको थियो । ‘खै के पो हुन्छ होला,’ उनले आत्तिएको स्वरमा सोधिन्, ‘के हुन्छ होला रु’

नाति अपहरण भएको खबर सुनेर नजिकै बस्ने मावली हजुरबा मीनप्रसाद सापकोटा र मामा रामकाजी सापकोटा चमेलीको डेरामै राति नै आए । उनीहरू तत्काल प्रहरी परिसर टेकु पुगेर खबर गरे । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि खोजी अगाडि बढायो । चमेली र रामकाजी प्रहरीसँगै राति १२ बजेसम्म खोजीमा जुटे । निसानको केही पत्तो नभएपछि कोठामा आए । रामकाजीले रातिको घटना सुनाउँदै भने, ‘भान्जाको चिन्तामा रातभरि कसैले झिमिक्क गरेनौं । दिदी रोइरहिन् ।’

चमेली मिनेटमिनेटको हिसाब गरेर छटपटीमा समय कटाइरहेकी थिइन् । सोमबार बिहानको कुराकानीमा चमेलीले छोरा अपहरणको कुरा मलेसिया रहेका श्रीमान्लाई नभनेको बताउँदै थिइन् । उनले दबेको स्वरमा भनिन्, ‘कसरी पो भन्नु । थाहा पाउनुभो भने के होला रु’

दिउँसो चमेलीको डेरामा पुग्दा सिमसिम पानी परिरहेको थियो । डेरामा निसानका हजुरबा मीनप्रसाद आँखाको डिलभरि आँसु बनाएर बसिरहेका थिए । उनी केही बोल्न खोज्थे तर शब्द किलकिलेमै अडकिन्थ्यो । एकैछिन अघि आएर प्रहरीले चमेलीलाई लिएर गएको उनैले बताएपछि थाहा भयो । चमेलीलाई लिएर जानेबित्तिकै दर्के झरी परेको थियो । मीनको फोन किर्रकिर्र बजिरहेको थियो । उनी फोनमा अडकलेर बोलिरहेका थिए । उनी फोनमै कसैलाई सम्झाइरहेका थिए, ‘नरो त । पीर नगर भन्या ।’ यति भनेर फोन राखेपछि उनले आँखाको डिलमै आएर अडिएको आँसु हर्थ‘ङ्गोले पुछे ।

हामी निस्कने बेलामा मीनले भने, ‘नाति केटोलाई केही नहोस् । त्यसलाई केही भो भने त चमेली मर्छे रोएर ।’ पानी रोकिन थालेपछि हामी प्रहरीले चमेलीलाई लिएर गएको ठाउँ खोज्दै हिँड्यौं । तरकारी खेतीका कारण प्रसिद्धी कमाएको भक्तपुरको नगदेशमा एउटा विहार छ । त्यसैको तल्लो पाखामा तरकारी खेती छ । वडा नम्बर–९ स्थित श्याम लवटको भर्खरै खनेको जग वरिपरि झरीको पर्वाह नगरी सयौं स्थानीय भेला भएका थिए । पानी जमेको जगको खाल्डोबाट प्रहरीहरू घोप्टो परेका निसानलाई तानेर निकाल्दै थिए । अर्जेन्टिनाको जर्सी लगाएका निसानको आँतमा धुकधुकी थिएन । उनको मुखमा केही कोचिएजस्तो देखिन्थ्यो भने घाँटीमा सलजस्तो कपडा कसिएको देखिन्थ्यो । भेला भएका स्थानीयको मुखमा आश्चर्य र पीडा मिश्रित आवाज आइरहेको थियो । छोराको मृत देह देखेपछि चमेली आकाश फाट्ला झंै गरेर चिच्याइन् । उनको आँखाबाट घोप्टिएका आँसु आकाशबाट परेको पानीमा मिसिइरहेको थियो । उनलाई आफन्तले दुई पाखुरामा टेको दिएर उभ्याइरहेका थिए । तर चमेली आफूलाई धान्न सक्ने हालतमा थिइनन् । (कान्तिपुर )

 

Comments

Top