पोष्टमार्टम रिपोर्ट भन्छ -निशान खड्काको अपहरण लगत्तै घाँटी थिचेर हत्या

hatyaa

 काठमाडौं । अपहरण गरेर  हत्या गरिएका बालक निशान खड्काको पोष्टमार्टम रिपोर्टले उनलाई अपहरण गरेकै दिन राति घाँटी थिचेर हत्या गरेको पुष्टि गरेको छ । काठमाडौंको काँडाघारीबाट अपहरित बालकको घाँटी थिचेर हत्या गरिएको निष्कर्ष पोष्टमार्टमबाट निस्किएको छ ।

 त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको देखाएको हो आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको ८ घण्टा वित्न नपाउँदै हत्या भएको थियो ।

 महानगरीय अपराध  महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको बताए । उनले मध्यरातमा बालकको हत्या भएको देखिएको बताए ।घटनास्थलमा बच्चा रोइरहेको आवाजका कारण पनि अपहरणकारीले आक्रोशित भई बच्चाको मुखभित्र रुमाल कोचेर कुटपिट गर्दा बच्चाको मृत्यु भएको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

 अपहरणकारी र निशानका परिवारबीच चीनजान हुनु, फिरौती मागेको तर समय नपर्खेको हुँदा उनलाई यातना दिंदा आकस्मिक रुपमा मृत्यु भएको हुनसक्ने अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् । खड्का परिवारसँग चिनजान रहेका सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङले अपहरण गरी निशानको हत्या गरेका थिए ।

Comments

Top