सलमानले नमान्दा दिपिकालाई चिठ्ठा, यसकारण फिल्म गुमाइन् एश्वर्याले

salman, dipika and aishworya

  काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायको पूर्वप्रेमी सलमान खानसँग पानी बाराबार छ । उनीहरू एउटै फिल्म खेल्ने त कुरै छाडौं, भेट हुँदा एकअर्कासँग छड्किएर हिँड्छन् । सलमानसँगको खराब सम्वन्धले ऐश्वर्यालाई भने ठूलो घाटा पुगेको खुलासा भएको छ ।

उनले निर्देशक सञ्जय लीला भन्सालीका दुई ब्लकबस्टर फिल्म गुमाएकी छन् । ऐश्वर्याका अनुसार फिल्म ‘बाजिराव मस्तानी’का लागि भन्सालीले शुरुमा उनलाई अफर गरेका थिए । उनी खेल्न तयार पनि भएकी थिइन् ।

भन्सालीको सोच थियो, यो फिल्ममा ऐश्वर्या र सलमानको जोडी बनाउने । तर, ‘हम दिल दे चुके सनम’ को यो सुपरहिट जोडीलाई कास्ट गराउने उनको चाहना सलमानको कारण पूरा भएन । ऐश्वर्याको नाम आउनासाथ सलमानले यो फिल्म खेल्न इन्कार गरे । त्यसपछि भन्सालीले ऐश्वर्यालाई पनि यो फिल्म खेलाएनन् ।

उनले रणवीर सिंह र दिपिका पादुकोणको जोडी बनाए । फिल्म खुबै चल्यो पनि । यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘पद्मावत’मा पनि भन्सालीको पहिलो छनोट सलमान र ऐश्वर्या नै थिए । उनी ऐश्वर्यालाई पद्मावती र सलमानलाई खिलजीको भूमिकामा उतार्न चाहन्थे । यहाँ पनि उनले सलमानलाई मनाउन सकेनन् ।

सलमानले नखेल्दा ऐश्वर्याको हातबाट यो फिल्म पनि गुम्यो । अन्ततः उनै दिपिका र रणवीरलाई चिठ्ठा प¥यो । ऐश्वर्याले यी दुवै फिल्म पाएकी भए उनको करिअर सम्भवतः नयाँ उचाइँमा पुग्ने थियो । हालै एक कार्यक्रममा उनले सलमानको नाम नलिइकन यी दुई फिल्म एक अभिनेताको कारण गुमाएको आफैंले बताएकी छन् ।

Comments

Top