भक्तपुर इन्काउन्टरबारे महाशाखाको व्रिफिङपछि गृहमन्त्री थापाले भने–‘उच्च मनोबलका साथ काम गर्नुस्’

rambahadur thapa and ssp dhiraj singh

  काठमाडौं । काठमाडौं पेप्सीकोलाका ११ बर्षीय बालक निशान खड्काको अपहरण लगतै निर्मम हत्या गर्ने अभियुक्तहरुको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि घटनाले नयाँ रुप लियो । धेरैले बालकको निर्मम हत्या गर्नेमाथि प्रहरीले इन्काउन्टर गरेर राम्रो काम गरेको भन्दै नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् भने केहीले ‘फेक इन्काउन्टर’ भन्दै घटनालाई बल्झाउन खोजिरहेका छन् ।

उनीहरु स्थानीयबासीलाई उदृत गर्दै अभियुक्तहरुलाई डेराबाट पक्राउ गरी भत्तपुरको जंगलमा लगेर इन्काउन्टर गरेको भन्दै प्रहरीमाथि नै छानविन हुनपर्ने माग गरेका छन् । तर, प्रहरले भने त्यसलाई अस्वीकार गरी ‘फेक इन्काउन्टर’ नभएको बताएको छ । अभियुक्तहरुले अन्दाधुन्द गोली चलाएपछि अत्मरक्षाको लागि आफूहरुले गोली चलाउँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ ।

गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले पनि निशानको अपहरण गरी हत्या गर्ने दुई जनामाथि इन्काउन्टर भएको घटनामाथि छानबिन भइरहेको जानकारी गराइसकेका छन् । संसद्को‍ राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले पक्राउ परिसकेका दुई अपहरणकारीलाई प्रहरीले किन ‘फेक इन्काउन्टर’ गरी हत्या गरेको भनी प्रश्न उठाएपछि मन्त्री थापाले उक्त जानकारी गराएका हुन् ।

त्यसलगत्तै भक्तपुर इन्काउन्टर प्रकरणबारे महानगरीय अपराध महाशाखाको टोलीले गृहमन्त्री थापालाई विहीबार औपचारिक ब्रिफिङ गरिसकेको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहसहितको टोली गृह मन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे ब्रिफिङ गरेको हो ।

एसएसपी सिंहको टोलीले गृहमन्त्रीलाई दोहोरो मुठभेडमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अपहरणकारीको मृत्यु भएको जानकारी गराएको छ । ब्रिफिङपछि गृहमन्त्री थापाले प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएको स्रोतको दावी छ ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो ।

आइतबार साँझ अपरिचित नम्बरबाट आफ्नो सन्तानको अपहरण भएको र छोरा पाउनका लागी शुरुमा २ करोड त्यसपछि ४० लाख फिरौती चाहिने सूचना आएपछि निशानकी आमा चमेली खड्काले प्रहरी कन्ट्रोल १०० मा फोन गरेकी थिइन् । महानगरीय प्रहरी कन्ट्रोलले तत्काल महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपाने र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेललाई घटनाबारे जानकारी गराएको थियो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पनि तत्काल घटनाको जानकारी पाएका थिए । त्यसलगत्तै प्रहरीले खोजी कार्य शुरु गरेको पनि थियो । प्रहरीले बालकको सकुशल उद्धारको हरदम प्रयास गर्दा पनि सफल भने हुन सकेन ।

Comments

Top