विद्युत प्राधिकरणले रच्यो नयाँ इतिहास, नाफा एक अर्व नाघ्यो

nea

   काठमाडौं । प्रायः सँधै घाटामा गइरहने नेपाल विद्युत प्राधिकरण अघिल्लो आर्थिक वर्षमा भने नाफा कमाउन सफल भएको छ । प्राधिकरणले नाफा कमाए पनि संचित नोक्सानी भने अझै २८ अर्ब १२ करोड रहेको प्राधिकरणले जनाएको छ । आव २०७४/७५ मा प्राधिकरणले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वाषिर्क खुद नाफा अझै बढ्न सक्ने बताएका छन् । गत आर्थिक वर्षमा प्राधिकरणको संचालन मुनाफा ७ अर्व ८६ करोड रुपैयाँ छ । यसमा अन्य वित्तीय खर्चहरु कटौती गरेपछि खुद मुनाफा आउँछ ।

प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयन लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो । चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी भएको छ ।

विद्युत प्राधिकरण गत आवमा विद्युत चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ । प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत चुहावटलाई २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । गत आवमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो ।

Comments

Top