पूर्वराजदूत केशव झाको हत्या

keshab jha

    काठमाडौं । पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । सोमबार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा झामाथि छुरा प्रहार गरी हत्या गरेको देखिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाका अनुसार ८० वर्षीय झाको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् । प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ ।

उनी बस्दै आएको निवासको एउटा झ्याल काटिएको पनि प्रहरीले जनाएको छ। श्रीमतीले बिहान चिया खान नआएपछि कोठामा हेर्दा झालाई मृत अवस्थामा फेला पारेकी थिइन्।घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर पनि घटनास्थल पुर्याइएको छ । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।

 

Comments

Top