१८ औं एसियाली खेलकुदमा पहिलो स्वर्ण चीनलाई, यस्तो छ नेपालको नतिजा

asiad

  काठमाडौं । १८ औं एसियाली खेलकुदको पहिलो स्वर्णपदक चीनका उसु खेलाडी पेइयुयान सनले जितेका छन् । उनले पुरुष छ्वान छ्वानबाट आइतबार स्वर्ण जितेका हुन् । सनले ९ दशमलव ७५ अंक बटुल्दै इन्डोनेसिया एसियाडको पहिलो स्वर्ण आफ्नो देशमा भित्र्याएका हुन् ।

नेपालले भने पहिलो दिनमा खासै सुखद नतिजा दिन सकेन । नेपालले पदक आस गरेको खेल तेक्वान्दोमा नेपालका कमल श्रेष्ठ ताइपेईका चीन चेङसँग पराजित भए ।
जेसीसी पेलेनरी हलमा तेक्वान्दोको पुम्सेमा प्रतिस्पर्धा हुँदा नेपालले तीन इभेन्टमा प्रतिस्पर्धा गरेको थियो । महिलातर्फ पार्वती गुरुङले ताइपेईकी लियाओ वेनसुआनसँग पराजित भईन् । महिला टिमतर्फ भने उज्वेकिस्तान अनुपस्थित भएपछि नेपाल क्वाटरफाइनल पुगेको थियो । तर त्यसममा पनि ताइपेईसँग पराजित भयो । पार्वतीसहित निता गुरुङ, सिना मादेन लिम्बूले नेपालबाट प्रतिस्पर्धा गरेका थिए ।

यता, ब्याडमिन्टनमा भने नेपाली खेलाडीले मिश्रित नतिजा निकालेका छन् । पुरुष टिम इभेन्टमा नेपालले सफलता पाएको छ भने महिला टिम इभेन्टको खेल गुमायो । क्वाटरफाइनल पुगेको पुरुष टोलीले अब अन्तिम चारमा स्थान बनाउन सोमबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

कुस्तीतर्फ भाग लिएका तीन खेलाडीले पहिलो चरणमै पराजय भोगेका छन् । त्यसैगरी टेनिसको सिंगलतर्फ सबै नेपाली खेलाडीले हार बेहोरेका छन् ।

Comments

Top