नेपाली नागरिक प्रविण यसरी बने कतारका सफल व्यवसायी

nrn

  चितवनमा जन्मिएका प्रविण गुरुङ अहिले कतारका सफल व्यवसायी बनेका छन् । १४ वर्षसम्म गार्खा पल्टनमा काम गरेका उनी कतारका ठूला व्यवसायीमध्येमा पर्छन् । वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपालीहरु खाडीको चर्को घाममा पसिना बगाइरहो छन् । त्यसमा पनि धेरै मजदुरहरु त निर्माणकार्यमा संलग्न छन् ।

तर, गुरुङ ति भन्दा अलि फरक छन् । मध्यरातमा भारतीय सेनाको जागिर छाडेर १४ वर्षअघि कतार पुगेका गुरुङ अहिले ‘ग्रिन ग्रास ट्रेडिङ कन्ट्राक्टिङ’ अन्तर्गत कतारभरी २३ वटा कम्पनी, पाँचतारे होटलमा ‘हेल्थ एन्ड फिटनेस क्लब’, समुद्रमा पानी जहाजका मालिक बनेका छन् ।

उनका बाबु गजबहादुर र आम गोपीमाया चाहना अनुसार इन्डियन लाहुरे बनेका थिए । तालिम सकिनेबित्तिकै ड्यूटीका लागि बिहारको राँची पुगेका उनले राँचीमै छँदा भएको भारत–पाकिस्तान युद्वमा आफ्नो युद्व कौशल देखाउन सफल भएका थिए । त्यसबेलाको अनुभव सुनाउँदै उनले भने–‘घरको एक्लो छोरो, फर्किन्न कि भन्ने लागेको थियो। तर, युद्धमा होमिए ।’

त्यसपछि उनी रजौरामा खटिए । त्यसै बेला उनलाई कतार आउन दिदीले आग्रह गरिन् । पल्टनको काम, तुरुन्तै छुट्टी मिल्ने छाँटकाँट नदेखिएपछि उनले मध्यरातमा क्याम्प छाडे। त्यसलगत्तै काठमाडौं आएर घर पुग्दा उनको घरमा उनी भन्दा अगाडि भारतीय सेना पुगिसकेको उनले बताए । तर, घरयासी समस्या देउखाउँदै उनी उम्किए ।

कतारमा सेक्युरेटि गार्डको काम गर्न पुगेका गुरुङले आफू कतार पुगेको केही वर्षमै श्रीमतीलाई पनि उतै लगे। केही वर्षमा गुरुङ दम्पत्तिले व्यापार गर्ने योजना बनाए र सुरक्षा गार्डको काम चलिरहेका बेला गुरुङले दोहामा थकाली खानाको रेष्टुरेन्ट खोले, समसारा थकाली भान्छाघर नाममा। सोचेभन्दा राम्रो मुनाफा दिएपछि गुरुङले जागिर छोडिदिए।

prabin

थकाली रेष्टुरेन्टबाट आएको नाफा निर्माण व्यवसायमा लगानी गरे। अहिले उनीसँग २३ वटा कम्पनी छन् जसले कतारमा ठूला भवन तथा पुलहरु बनाउने काम गर्छ। गुरुङ आफ्नो मेहनतकै कारण सफलता मिलेको बताउँछन् । उनी बाबु, आमा र श्रीमतीको साथले नै यहाँसम्म आइपुगेको बताउँछन् ।

एनआरएनएको मध्यपूर्व उपसंयोजक समेत रहेका गुरुङ गैर–आवासीय नेपाली संघ, कतारका पूर्व उपाध्यक्षसमेत हुन् । उनी स्वदेशमा लगानी सुरक्षित हुने भए नेपालमा पनि लगानी गर्न चाहन्छन्। ‘सरकारले लगानीको वातावरण सिर्जना गर्ने र बन्द, हड्ताल, चन्दा आतंक बन्द हुने हो भने म नेपाल फर्किएर त्यहि लगानी गर्छु ।’ उनले भने ।

Comments

Top