विकासमा बाधा पुर्याउनेसँग सम्झौता हुँदैन : बस्नेत

mahes 

काठमाडौं । नेकपाका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले राजनीतिज्ञहरुले आलोचनालाई नै प्रेरणाको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् । आलोचनाले नै सुध्रिने मौका प्रदान गर्ने भन्दै उनले राजनीतिज्ञ आलोचनासँग कहिल्यै डराउन नहुने पनि बताए । यूनाइटेड पोष्ट र माइन्यूज नेपालका लागि अन्तर्वार्ता दिंदै उनले आफ्नो सम्पूर्ण जीवन नै मुलुकको समृद्धि र विकासमा लगाउने प्रतिवद्धता प्रकट गरे ।

आफ्नो क्षेत्र र जिल्लाको विकासमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाएको प्रसंग कोट्याउँदै उनले भने–‘उहाँहरुले विकासलाई नै राजनीतिसँग जोड्दा हामीले चुनौतिहरुको सामना गर्नु परिरहेको छ । तर, हामी विकासमा कसैसँग सम्झौता गर्दैनौं ।’

विकासको काम गर्दा आलोचना गर्नु हुन्छ भने त्यो उहाँहरुको राजनीतिक दरिद्रता भएको पनि उनले प्रष्ट पारे । पार्टीको राजनीतिक अस्तित्व समाप्त हुने भय (डर) का कारण नेमकिपाका साथिहरुले भक्तपुरमा विकास नचाहेको दावी गर्दै उनले भने–‘सोहि कारण उनीहरुले विकासले विनास निम्त्याउँदैछ भनेर भक्तपुरबासीमा गलत प्रचार गरिरहनु भएको छ ।’

पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने मुल आधार भनेको आर्थिक क्षेत्रको समृद्धि नै भएको बताए । आर्थिक क्षेत्रभित्र रहेका विकृति, विसंगति, अराजकता, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने र मुलुकको राजश्वलाई सुदृढ गर्न सकेको खण्डमा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा साकार हुने भन्दै उनले भने–‘जबसम्म कर नतिर्ने, विल मिलाएर भन्सारको रेटमा ठगी गर्ने, जग्गाको सरकारी मूल्यांकन गरेर कम राजश्व तिरेर दलालहरु पोस्ने जस्ता विकृतिहरुलाई नियन्त्रण गरेर राजश्वलाई सुदृढ गर्न सकिदैन तबसम्म अर्थतन्त्रलाई बलियो बनाउन पनि सकिंदैन ।’

सकारात्मक संस्कार र सभ्यताको विकास गर्न सकेको खण्डमा मात्रै सुसज्जित राजनीतिको स्थापना गर्न सकिन्छ भन्दै उनले त्यसका लागि शिक्षाका साथसाथै अभ्यसको पनि खाँचो रहेको औंल्याए ।

Comments

Top